
काठमाडौँ । भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनका क्रममा ठूलो परिमाणमा स्थानीय सरकारका भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले संकलन गरेको प्रारम्भिक तथ्यांकले देशभरमा गरी नगरपालिका १४६ वटा र गाउँपालिकाका १३५ वटा भवनमा क्षति पुगेको छ । यो संख्या तोडफोड र आगजनी भएका पालिका भवनको संख्या हो ।
नगरपालिका संघका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले अहिले प्रारम्भिक तथ्यांक प्राप्त भएको र विस्तृत विवरण संकलनको क्रममा रहेको बताए ।
‘अहिले हामीले प्राप्त गरेको प्रारम्भिक तथ्यांक हो । विस्तृत तथ्यांक संकलनको कार्य भइरहेको छ । सबै विवरण प्राप्त भएपछि के कति क्षति भयो भन्ने यकिन जानकारी हुन्छ,’ संघका प्रमुख कार्यकारी अधिकृत देवकोटाले वडापालिकासँग भने ।
गाउँपालिका राष्ट्रिय महासंघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्याकुरेलले पनि क्षतिको प्रारम्भिक तथ्यांक प्राप्त भएपनि सबै विवरण आउन केही समय लाग्ने बताए ।
‘प्रारम्भिक विवरण प्राप्त भएको छ । अहिलेसम्म हामीले प्राप्त गरेको विवरण भनेको कतिवटा भवन र सवारी साधनमा क्षति भयो भन्ने प्रारम्भिक जानकारी मात्रै हो,’ महासंघका प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले वडापालिकासँग भने ।
देशमा ७५३ वटा पालिका छन् । यसमध्ये महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी २९३ वटा छन् भने ४६० वटा गाउँपालिका छन् । जेनजी आन्दोलन विशेष गरेर शहर केन्द्रीत प्रदर्शन भएकोले धेरै क्षति नगरपालिकाको सम्पत्तिमा भएको छ । यद्यपि, गाउँपालिकाका भवनमा क्षति पनि कम छैन ।
कोशी प्रदेशमा ७ वटा नगरपालिकामा तोडफोड भएको छ भने १९ वटामा आगजनी भएको छ । मधेश प्रदेशमा २१ नगरपालिकामा तोडफोड भएको छ भने ३२ वटामा आगजनी भएको छ । सो प्रदेशका ५ नगरपालिकासँग सम्पर्क नभएको नगरपालिका संघले जानकारी दिएको छ ।
बागमती प्रदेशका ११ वटा पालिकामा तोडफोड भएको छ भने १० वटामा आगजनी भएको छ । गण्डकी प्रदेशका ३ नगरपालिकामा तोडफोड भएको छ भने २ वटामा आगजनी भएको छ । लुम्बिनी प्रदेशका १६ वटा नगरपालिकामा तोडफोड र ८ वटामा आगजनी भएको छ ।
नगरपालिका संघका अनुसार कर्णाली प्रदेशका ५ वटा नगरपालिकामा तोडफोड भएको छ भने एउटा पालिकामा आगजनी भएको छ । सुदूरपश्चिम प्रदेशका ६ वटा पालिकामा तोडफोड भएको छ भने ५ वटामा आगजनी भएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघले दिएको जानकारी अनुसार देशभरका १३५ वटा गाउँपालिका भवनमा आक्रमणबाट क्षति भएको छ । यस्तो क्षतिमध्ये २२ वटा प्रशासनिक भवन पूर्णक्षति भएका छन् भने २७ वटामा आंशिक क्षति भएको छ । यस्तै, ४८ वटा वडा भवनमा पूर्णक्षति भएको छ भने ३८ वटा वडा भवनमा आंशिक क्षति पुगेको महासंघको तथ्यांकमा उल्लेख छ ।
आमनागरिकको सबैभन्दा नजिकको सरकारको रुपमा रहेका स्थानीय सरकारका भौतिक सम्पत्तिमा क्षति पुग्दा सार्वजनिक सेवा प्रवाहमा नै समस्या उत्पन्न भएको छ । तर, स्थानीय सरकारहरुले सम्भव भएसम्मको उपाय निकालेर सर्वसाधारणलाई प्रवाह हुने सेवा सुचारु गरिसकेका छन् ।