
काठमाडौँ । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ ।
छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले हालैको आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानीयोग्य भएको र दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीहरूको हुनेहुँदा दाबी भुक्तानी मार्गदर्शन बमोजिम छिटोभन्दा छिटो दाबी भुक्तानी दिन बीमकहरूलाई निर्देशन दिए । उनले दाबी भुक्तानीका सम्बन्धमा बीमकहरूलाई कानूनी तथा व्यावहारिक समस्यमा भएमा प्राधिकरणले सहजीकरण गर्ने पनि बताए ।
‘बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्दै जानुपर्यो, बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, दाबी भुक्तानी दिएको बारेमा आम रूपमा जानकारी दिनुपर्यो, बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमैं एड्भान्स रकम दिनुपर्यो,’ उनले भने ।
बीमकले प्रवाह गर्ने बीमा दाबी र दाबी भुक्तानी सम्बन्धी तथ्याङ्क सही हुनुपर्ने र गलत तथ्याङ्क दिने बीमकमाथि प्राधिकरण कडाईका साथ प्रस्तुत हुने भन्दै कार्यकारी निर्देशक सुवेदीले तरलतालाई उच्च प्राथमिकतामा राखेर बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिन सक्ने, भुक्तानी गर्ने र कुनै पनि समस्या नभएको बताए ।
साना बीमा दाबीहरूको भुक्तानी गर्दै आएको, ठूला दाबीको हकमा नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीहरूले सक्रिय रूपमा सहयोग गर्नुपर्ने र तरलता व्यवस्थापनमा समेत पुनर्बीमले भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाइ छ । कम्पनीहरूले क्षतिको प्रतिवेदन तयार गर्न फिल्डमा बीमा सर्भेयरहरू खटाइसकेको र सर्भेयरहरूबाट प्रतिवेदन आउनेक्रम समेत जारी रहेको कम्पनीहरुको भनाइ छ ।
नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुनर्बीमा वापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको जानकारी दिए । पुनर्बीमा वापतको रकम आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई यथाशीघ्र उपलब्ध गराउने उनको प्रतिवद्धता छ ।