Odapalika - The Fourth Estate - चौथो अंग
सकियो त्रिपक्षीय छलफल: निर्वाचनको वातावरण बनेको भन्दै सरकार उत्साहित 

काठमाडौं - सरकार जनेजी र राजनीतिक दलहरूबिच बालुवाटारमा जारी पहिलो छलफल सम्पन्न भएको छ । उक्त छलफलले राजनीतिक दल र जेनजी बिच सम्बन्ध सुधारको सेतु तय भएको छ भने सरकारलाई निर्वाचनको वातावरण बनाएको भन्ने हौसला मिलेको छ । 

बैठक पश्चात् प्रतिक्रिया दिने क्रममा सरकार पनि निर्वाचनको माहौल बनेको भन्दै उत्साहित भएको छ । ४ घण्टा सम्म भएको छलफल र राजनीतिक दल र जेनजी बिच वार्ता संवाद हुन नसकेको अवस्थाको अन्त्य हुनु एकदमै सकारात्मक भएको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलको प्रतिक्रिया रह्यो । 

“छलफल सौहार्द पूर्ण भयो । सबैले सकारात्मक रूपमा छलफललाई लिएको र अबको मुलुकको बाटो सहज र सामान्यीकरणमा जान्छ । चुनावको माहौल बन्यो‚” खरेलले भने। 

के भयो बुधबारको बैठकमा ?

बैठकमा सरकारले मुख्य राजनीतिक दल तथा जेनजी प्रतिनिधिहरूलाई बोलाएको थियो । बैठकको सुरुवात गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सबै विचारको आदानप्रदान गर्नुपर्ने र त्यसको सुरुवात आजबाट भएको बताएकी थिइन् । उनले सरकार‚ राजनीतिक दल र जेनजी बिच बारम्बार संवाद भएमात्र विद्रोहले उपलब्धि दिने धारणा राखिन् । 

बैठकलाई सुरुवात गर्दै प्रम कार्कीले मुलुक सबैको भएको भन्दै थपेकी थिइन्-“मुलुक हाम्रो हो। हामीले नै बनाउने हो । हामीले नबनाए कसैले बनाइदिँदैन । एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ ।”

बैठकमा राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री र अभिभावकिय संस्थाको रूपमा राजसंस्था ल्याउनुपर्ने धारणा राखेको थियो । बैठक पश्चात् जानकारी दिँदै राप्रपा नेता राजेन्द्र गुरुङले राजा दल र जेनजीबिच छलफल गर्नुपर्ने माग राखेको र देशले जित्ने परिस्थिति निर्माण गरिनुपर्ने धारणा राखेको बताए । राष्ट्रको सन्तुलनको लागि राप्रपाले राजाको अपरिहार्यता बारे बोलेको भन्दै उनले भने-“अहिले अधुरो र अपुरो विद्रोह भयो भने अर्को विद्रोह नहोस् त्यसैले अभिभावकिय संस्थाको रूपमा राजा अपरिहार्य हो भनेका छौं।”

यस्तै नेकपा एमालेले भने संसद् पुनर्स्थापनाको माग बैठकमा राखेको छ । आफूहरू चुनावसँग नडराउने र जनतामाझ गएर परीक्षित हुन तयार भएता पनि चुनावको माहौल भने बनी नसकेको एमालेको ठहर छ । एमालेले संसद् पुनर्स्थापना गरेर जेनजीको माग पूरा गर्न सकिने धारणा राखेको छ । यस्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुनमा मौसम र सुरक्षाको कारण देखाउँदै निर्वाचन हुन सक्छ भन्दै प्रश्न गरेका थिए । सञ्चार मन्त्री खरेलका अनुसार कांग्रेसले प्रश्न उठाएतापनि सरकारलाई चुनावका लागि जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता कांग्रेसले जाहेर गरेको खरेलले थपे । 

बैठकमा जनेजी पक्षले पनि निर्वाचन पहिलो प्राथमिकता भए पनि सँगसँगै सुशासन र भ्रष्टाचार विरुद्धको कारबाही पनि महत्त्वपूर्ण र सरकारले सँगसँगै अघि बढाउनुपर्ने विषय भएको भन्दै कुरा राखेको थियो । 

बैठक पश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै जेनजी प्रतिनिधि ख्याम राज साउँदले त्रिपक्षीय बैठकमा आसन्न निर्वाचन तोकिएकै मितिमा कसरी सम्पन्न गर्ने भनी छलफल भएको जानकारी दिए । 

“अन्य दल चुनावमा सकारात्मक भए पनि एमालेले फरक मत राख्दै संसद् पुनर्स्थापना हुनुपर्छ भन्यो । हामीले त्यो हुनुहुन्न भयो भने जेनजी आन्दोलन संस्थागत हुँदैन भनेर भन्यौँ‚” उनले भने । उनले यो संवादको सुरुवात भएको र यसलाई अझै निरन्तरता दिने पनि बताए ।

यता जेनजीको तर्फबाटै बैठकमा सहभागी सागर ढकालले पनि निर्वाचनमा दलहरूलाई वाई पास गरेर जान नसकिने भन्दै पहिलो चरणको वार्ता सकारात्मक भएको बताए । उनले निर्वाचनको समयमा सबै पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा सबैले धारणा राखेको बताए ।

“चुनावको विकल्प छैन । त्यो कसरी सम्भव हुन्छ । विदेशमा बस्नेहरूले मतदान कसरी गर्ने भन्ने विषयमा पनि छलफल भयो‚” उनले भने । 

सञ्चार मन्त्री खरेलले पनि चुनावको सन्दर्भ सहित सुशासनको सन्दर्भ भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि गहन छलफल भएको जानकारी दिए । साथै सबै राजनीतिक दलले चुनाव स्वीकारेको र स्पष्ट शब्दमा दलहरूले निर्वाचनमा जान सहयोग गर्ने धारणा राखेको खरेलले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update