काठमाडौं - सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । संवैधानिक परिषद् काम कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधानसमबन्धी दुई अध्यादेश जारी गर्न सरकारले सिफारिश गरेको स्रोतले जानकारी दियो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २ अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग सिफारिश गरेको हो । मंगलबार दिउँसो अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को पत्र आएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चुन्न ढिला गरेपछि बहुमतले निर्णय गर्न सकिने गरी अध्यादेश जारी गर्न सिफारिश भएको स्रोतले जानकारी दियो । सोमबार नै कांग्रेसले संसदीय दलको नेता चयन गरिसकेको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलको नेता सदस्य रहने प्रावधान छ । संवैधानिक परिषद् बस्न नसक्दा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया ढिलो भएको छ।






