काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको सरकारको नीति तथा कार्यक्रमको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले स्वामित्व लिएका छन् कि छैनन् भनेर चौतर्फी चर्चा छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरिरहदा प्रधानमन्त्री शाह बीचमै उठेर हिडेपछि यस्तो चर्चा सुरु भएको थियो । र, नीति तथा कार्यक्रम सार्वजनिक गरिदिएकोमा राष्ट्रपतिलाई संसदको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा प्रधानमन्त्री शाह उपस्थित नभएपछि यस्तो चर्चा झन् बढेको थियो ।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री शाह कहिल्यै उपस्थित भएनन् । र, सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ भन्ने विपक्षी दलका सांसदहरुले जोडदार माग गरेपनि प्रधानमन्त्री शाह जवाफ दिन संसदमा गएनन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठेका प्रश्नहरुको जवाफ दिए भने सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पनि अर्थमन्त्रीले नै राखे ।
सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रधानमन्त्री शाहको चर्चा भइरहेको छ । तर, नीति तथा कार्यक्रमप्रति बेवास्ता गर्ने प्रधानमन्त्री शाहको पुरानै बानी रहेको एक तथ्यले पुष्टी गरेको छ ।
यो तथ्य भने अहिलेका प्रधानमन्त्री काठमाडौँ महानगरको मेयर हुँदाको समयको हो । बालेन काठमाडौँ महानगरको मेयर बनेको समयमा आर्थिक वर्ष २०८०/८१ को महानगरको नीति तथा कार्यक्रम सार्वजनिक भएको थियो । तर, सो नीति तथा कार्यक्रममा समावेश भएका २२ वटा कार्यक्रमको लागि महानगरले बजेटको व्यवस्था नै गरेको थिएन ।
नीति तथा कार्यक्रममा परेका तर बजेट विनियोजन नभएका कार्यक्रमहरुमा परम्परागत कला र साहित्यको प्रवर्धन गर्दै ललितकला विकासको लागि छुट्टै विश्वविद्यालय स्थापनाको लागि अध्ययन गरिने, आस्फाल्ट प्लाण्ट खरिद तथा स्थापना गर्ने, महानगरका विभिन्न स्थानमा हाईमास लाइट जडान गर्ने जस्ता कार्यक्रम थिए ।
यस्तै, महानगरपालिकाभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी संचालनमा ल्याइने, सञ्चालनमा आएका जग्गा एकिकरण आयोजनाहरूलाई आर्थिक वर्ष २०८०/८१ भित्र
सम्पन्न गरिने, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीहरूको गुणस्तर र मापदण्ड निर्धारण गरिने, ठमेल क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न ठमेल मास्टरप्लान तर्जुमा गरी कार्यान्वयन गरिने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा परेपनि बजेट भने विनियोजन भएको थिएन ।
महानगरको नीति तथा कार्यक्रममा काठमाडौ महानगरपालिका वडा नं ३२ स्थित तिनकुनेमा अन्तराष्ट्रियस्तरको पार्क निर्माण गर्न आवश्यक पर्ने मुआव्जा वितरण गर्न र अधिग्रहण गर्न बाँकी जग्गाको मुआब्जाको लागि लाग्ने सम्पूर्ण रकममध्ये काठमाडौ महानगरपालिकाले एक तिहाई रकम व्यहोर्ने, महानगरभित्र रहेका व्यापार व्यवसायको विस्तृत विवरण सहितको अनलाईन डाइरेक्ट्री तयार गरी कारोबार पारदर्शिताको लागि उधारो रेटिङ्ग प्रणाली तथा उधारो सुचना केन्द्र सञ्चालनमा ल्याइने तथा काठमाडौको सहरी यातायातको विकासको लागि नेपाल सरकारसंग सहकार्य गरी इलेक्ट्रोनिक बस र्यापिड ट्रान्जिट, फ्लाइ ओभरको सम्भाव्यता अध्ययन गरी एक वर्षमै ठोस प्रस्ताव पेश गर्ने भनिए पनि बजेट भने विनियोजन गरिएको थिएन ।
यी थिए नीति तथा कार्यक्रममा घोषणा भएका तर बजेट विनियोजन नभएका कार्यक्रमहरु
- परम्परागत कला र साहित्यको प्रवर्धन गर्दै ललितकला विकासको लागि छुट्टै विश्वविद्यालय स्थापनाको लागि अध्ययन गरिने
- आस्फाल्ट प्लाण्ट खरिद तथा स्थापना
- महानगरका विभिन्न स्थानमा हाईमास लाइट जडान गर्ने
- महानगरपालिकाभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी संचालनमा ल्याइने
- हाल सञ्चालनमा आएका जग्गा एकिकरण आयोजनाहरूलाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने,
- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीहरूको गुणस्तर र मापदण्ड निर्धारण गरिने
- ठमेल क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न ठमेल मास्टरप्लान तर्जुमा गरी कार्यान्वयन गरिने
- काठमाडौ महानगरपालिका वडा नं ३२ स्थित तिनकुनेमा अन्तराष्ट्रियस्तरको पार्क निर्माण गर्न आवश्यक पर्ने मुआव्जा वितरण गर्न र अधिग्रहण गर्न बाँकी जग्गाको मुआब्जाको लागि लाग्ने सम्पूर्ण रकममध्ये काठमाडौ महानगरपालिकाले एक तिहाई रकम व्यहोर्ने
- महानगरभित्र रहेका व्यापार व्यवसायको विस्तृत विवरण सहितको अनलाईन डाइरेक्ट्री तयार गरी कारोबार पारदर्शिताको लागि उधारो रेटिङ्ग प्रणाली तथा उधारो सुचना केन्द्र सञ्चालनमा ल्याइने
- काठमाडौको सहरी यातायातको विकासको लागि नेपाल सरकारसंग सहकार्य गरी इलेक्ट्रोनिक बस र्यापिड ट्रान्जिट, फ्लाइ ओभरको सम्भाव्यता अध्ययन गरी एक वर्षमै ठोस प्रस्ताव पेश गर्ने
- महानगरपालिकाले जब लिङ्क एप विकास गर्ने
- डिजीटल महानगर फ्रेमवर्क तयार गर्ने
- काठमाडौ महानगरपालिको २० वर्षे रणनीति विकास योजना सहितको मिसन २१०० स्वर्णिम योजना तर्जुमा गरी सञ्चालनमा ल्याइने
- उद्यमशिलताका लागि को–वर्कस्पेस सहितको इन्टरप्रिनरसिप, विजनेस एण्ड इनोभेटिभ सेन्टरको रुपमा एकिकृत तालिकम केन्द्र सञ्चालनमा ल्याइने
- काठमाडौं महानगर क्षेत्रभित्र होमस्टे सञ्चालन गर्न कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने
- वडा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई सरल, सहज र प्रभावकारी बनाउनका लागि आवश्यकपर्ने कागजात, कार्यविधि र प्रक्रिया तोकिएको वडा प्रशासन सञ्चालन निर्देशिका जारी गरी वडाबाट सम्पादन हुने काम कारबाहीमा एकरूपता ल्याइने
- महानगरपालिका अन्तर्गतका कार्यालयका सबै सेवा प्रवाह विन्दुहरूमा नन् स्टप सर्भिस सेन्टर स्थापना गरी क्रमिक रूपमा सञ्चालनमा ल्याइने
- महानगरक्षेत्र भित्रका सञ्चालन हुने सार्वजानिक सवारी साधनहरूमा अनिवार्य रूपमा जिपिएस जडान गरी इ–ट्रान्सपोर्टमा आवद्ध गरिने
- गुनासो तथा सुझावहरू सम्बोधन गर्ने तथा महानगरको गतिविधिहरू अनुगमन गर्न मेट्रो कन्ट्रोल रूम तयार गरिने
- महानगरबासीलाई अर्गानिक तरकारी, फलफूल, माछामासु तथा खाद्यवस्तुको सहज उपलब्धताको प्रबन्ध गर्न अन्य स्थानीय तहहरूसँग सम्झौता गरि कृषकहरूलाई प्रोत्साह हुने तथा कृषि उपजको विक्री वितरण तथा भण्डारण गर्ने संस्थागत प्रणालीको विकासका लागि एग्रो लिङ् स्वर्णिम योजना सञ्चालन गर्ने
- काठमाडौ महानगरपालिकाको भू–उपयोग योजना तयार गरी लागू गरिने
- महानगर क्षेत्रभित्रका होटल, कार्यालय, संघ संस्थाहरूले अनिवार्य रूपमा आकाशे पानी संकलन तथा पुनर्भरणको व्यवस्था गर्नुपर्ने विषयमा नीतिगत प्रवन्ध गरिने






