Odapalika - The Fourth Estate - चौथो अंग
माओवादी केन्द्र र नेकपा एससहित आठ दल/समूहको राष्ट्रिय एकता सम्मेलन आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दल/समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ । आइतबार यी आठ दल/समूहबीच एकताको सहमति भएको थियो । 

आउँदो फागुन २१ गतेका निम्ति तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक मसान्तसम्म दल दर्ताको समय दिइएको छ । सोही कारण छिट्टै नयाँ दल दर्ता गर्न जाने नेताहरूले बताएका छन् । 

आइतबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पाटी नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी)बीच पार्टी एकता र कम्युनिस्ट एकीकरणको प्रकृया अगाडि बढाउन हस्ताक्षर गरिएको छ । 

यी पार्टीहरूबीच १८ बुँदे सहमति भएको थियो ।  एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्यहरू गरिने उल्लेख छ । 

आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने जनाइएको छ । 

यसैबीच, माओवादी र एकीकृत समाजवादीका असन्तुष्ट नेताले भने पार्टी पुनर्गठन गर्ने बताउँदै आएका छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्ष सोही पार्टी पुनर्गठन गर्ने भन्दै गृहकार्यमा छन् ।

माओवादीका नेता जनार्दन शर्मा पनि आफूले पार्टी छाड्न नसक्ने बताउँदै आएका छन् । 

तर, एकीकरण भएको खण्डमा सोही पार्टी नाम र चुनाव चिह्न एक वर्षसम्म प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १० (७)मा एकीकरण वा गाभिनुअघि प्रयोग गरिएको दलको नाम र चुनाव चिह्न एक वर्षसम्म कसैले नपाउने उल्लेख छ ।
 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update