काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले व्रह्माको मन्दिर उद्घाटन गरेका छन् । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख शाहले महानगरपालिकाको वडा नम्बर ८ जयवागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिर उद्घाटन गरेका हुन् ।
मन्दिर उद्घाटन समारोहमा सहभागी भएपनि मेयर शाहले कुनै सम्बोधन गरेनन् । उमेयर डंगोलले भने सम्बोधन गरेकी छन् ।
मन्दिर समुद्घाटनपछि बोल्दै उपप्रमुख डंगोलले प्राचीन स्मारकको जीवनका रुपमा रहेका आकृतिक, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनस्थापित गर्न लागिरहेको बताइन् ।
‘जहाँ मूर्तिको पूजा हुन्छ । मूर्तिलाई त्यहीँ राख्नुपर्छ । यसलाई हामीले अभियानका रुपमा अगाडि बढाएका छौँ,’ उनले भनिन् ।
यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार १९९० सालअघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो ।
‘अध्ययनबाट मन्दिर छैटौँ शताव्दीदेखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएर पुननिर्माण गरिएको हो,’ उनले भने ।
मन्दिरको मूर्ति गौशाला प्रहरी वृत्तमा राखिएको थियो । चतुर्मुख व्रह्माको यो मूर्तिलाई पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार कार्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गराइएको हो । करिब २०३६ सालतिर यो मूर्ति चोरिएको थियो । चोरेर लैजाने क्रममा टाढा पुर्याउन नसकेपछि चोरले छोडेर भोगेका थिए । त्यसपछि प्रहरीले मूर्तिलाई संरक्षणमा राखेको थियो ।
पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत शुशिलकुमार गौत्तमले यस मूर्तिको विशेषताका बारेमा बताए । ‘मूर्तिमा ४ वटा टाउका छन् । छातीतर्फको टाउकोले पश्चिम हेरेको छ । एउटा हातमा कमण्डलु र अर्को हातमा रुद्राक्षको माला बोकेको छ । २ वटा टाउका काँध माथि छन् भने एउटा टाउको पछाडिपट्टि छ । यसकारण यो मूर्ति व्रह्माको हो,’ उनले भने ।
पछिल्लो समयमा यो मूर्ति कसको हो भन्ने विषयमा सामाजिक सञ्जालमा चलेको चर्चाका विषयमा कुरा गर्दै गौत्तमले भने ‘मूर्ति ललितासनमा छ । यो व्रह्माको आसन हो । नेपालमा व्रह्माका २ वटा मूर्ति छन् । एउटा यही हो । अर्को चापागाउँमा छ । यहाँका विषयमा अभिलेख प्राप्त हुन सकेको छैन । चापागाउँमा रहेको मूर्तिसँग कुवेर गुप्त र आनिक गूप्तले निर्माण गराएको उल्लेख छ,’ उनले भने ।
आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट १ करोड १२ लाख ४५ हजार रुपियाँ लागतमा मन्दिर पुननिर्माण भएको हो । सडकबाट ५ फिट उचाइमा पेटी उठाएर मन्दिर निर्माण गरिएको छ । माटो, इटा र काठको प्रयोगबाट पुनःनिर्माण भएको मन्दिर २३.५ फिट उचाइको दुई तले प्यागोडा शैलीको छ । मन्दिरमा शिरमा ३ फिटको गजुर राखिएको छ ।
संस्कृतिविद मुकुन्दराज वैद्यका अनुसार व्रह्मा मन्दिरको पुनरुत्थानले ग्वलःदे क्षेत्रको प्राचीनतालाई पुनस्थापना गराउन मद्दत गरेको । ग्वल देः को विशेषता भनेको तान्त्रिक विधि र प्राचीनतामा ९ अङ्कको प्रयोग हो । ग्वलः क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डवली, ९ वटा टोल र ९ थरी जात छन् । मन्दिरको उत्खनन गर्दा जगमा ९ वटा कुण्ड भेटिएका थिए । यो कुण्ड ‘ग्वलः देँ’ (ग्वलः देश) निर्माणको प्राचीनता, धार्मिक आस्था र तान्त्रिक विधिसँग सम्बन्धित विशेषतासँग जोडिएको छ ।






