Odapalika - The Fourth Estate - चौथो अंग
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं - पहिलो संविधान सभाका चार सभा सदस्यसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ।

रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनिलबाबु पन्तलगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।

संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात् गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने टोलीको माग छ।

“कानुनमा बाध्यकारी व्यवस्था नभएकाले दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलालाई टिकट नै दिँदैनन्। यही कारण संसद्मा महिला प्रतिनिधित्व सन्तोषजनक हुन सकेको छैन। अब ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था हुनुपर्छ। त्यसभित्र दलित, जनजाति र अन्य अल्पसङ्ख्यक समुदायको पनि प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ‚” डा पाण्डेले भनिन् ।

प्रतिनिधिमण्डलमा उषाकिरण तिम्सेना, सम्झना पौडेल, प्रतीक्षा चापागाईँलगायतको पनि सहभागिता थियो। प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने वचन दिइन् । उनले निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राखेका थिए । खर्चिलो निर्वाचनका कारण पनि भ्रष्टाचार र चुनावी बेथिति बढेको भनाई थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update