काठमाडौं : विघटित प्रतिनिधि सभामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यले पुनर्सथापनाको माग लिई अदालत जान हस्ताक्षर सङ्कलन अभियान चलाएका छन्।
प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेका दुई दलका निवर्तमान सांसदले विवाद अदालतमा पुगिसकेपछि हस्ताक्षर सङ्कलन सुरु गरेका हुन्।
एमालेले विघटन असंवैधानिक भन्दै पुनर्सथापना हुनुपर्ने संस्थागत निर्णय नै गरिसकेको छ तर कांग्रेसले पुनर्सथापनाको पक्षमा कुनै संस्थागत निर्णय गरेको छैन।
विघटनलाई भने कांग्रेसले पनि असंवैधानिक कदम भनेको छ। विघटनको झन्डै दुई महिनापछि दुई दलका प्रतिनिधिले हस्ताक्षर सङ्कलनको कार्य अघि बढाएका हुन्।
एमालेका सांसदले अघिल्लो सातादेखि नै हस्ताक्षर सुरु गरिसकेका छन्। एमालेले अभियान चलाएपछि कांग्रेस सांसदले पनि शुक्रबारदेखि हस्ताक्षर सुरु गरेका हुन्।
हस्ताक्षर सङ्कलन भएपछि पार्टीसँग परामर्श गरेर सर्वोच्च अदालतमा रिट लिएर जाने रणनीतिमा विघटित सभाका सदस्य छन्।
अदालतमा अहिले विघटनसँग सम्बन्धित १६ रिट निवेदन विचाराधीन छन्। अदालतले प्रारम्भिक सुनुवाइबाट विपक्षीसँग लिखित जवाफ माग गरिसकेको छ।
विघटित सभाका सदस्य एवं सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले अदालत जाने प्रयोजनका लागि हस्ताक्षर सङ्कलन भइरहेको बताए।
नेपाली कांग्रेसका तर्फबाट विघटित सभामा सचेतक रहेकी सुशीला थिङले पनि हस्ताक्षर सङ्कलन भइरहेको बताइन्। विघटनलाई पार्टीले असंवैधानिक भनिसकेको अवस्थामा अहिलेको अवस्थाको निकासका लागि सांसदले एकीकृत प्रयास अघि बढाइरहेको थिङको भनाइ छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै प्रतिनिधि सभा विघटन भएको थियो। आन्दोलनपछि राष्ट्रपतिसँग भएको वार्ताका क्रममा विभिन्न समूहले प्रतिनिधि सभा विघटनको माग राखेका थिए।
भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएसँगै कार्कीकै सिफारिसमा सभा विघटन भएको थियो। प्रतिनिधि सभाले अपेक्षित काम गर्न नसकेको भन्दै विघटन सिफारिस गरिए पनि आन्दोलनकारीकै माग सम्बोधनका लागि सभा आवश्यक भएको तर्कसहित यसअघि सभामा प्रतिनिधित्व गर्ने दलले पुनर्सथापनाको आवाज उठाउँदै आएका छन्।
यसअघि सभामुख देवराज घिमिरेले पनि पुनर्सथापनाको माग लिएर अदालत जाने वा नजानेमा दलका प्रतिनिधि र कानुन व्यवसायीसँग छलफल गरेका थिए।
परामर्श गरेका अधिकांशले ठोस राय नदिएपछि सभामुख घिमिरे निर्णयविहीन भएका थिए। दलका प्रतिनिधि र कानुन व्यवसायीले घिमिरेलाई मिश्रित राय दिएका थिए।





