Odapalika - The Fourth Estate - चौथो अंग
लम्पीका कारण एक वर्षमा हजार भन्दा बढी चौपायाको मृत्यु 

विराटनगर - कोसी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ । कुनै पनि समयमा देखिने यो रोग यस वर्ष गर्मी र बर्सातको मौसममा देखिएको थियो ।

प्रदेशका तीन लाख ९४ हजार ५८५ चौपायामध्ये तीन लाख १५४ मा लम्पी स्कीनको रोग देखिएको निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डेले जानकारी दिए । भाइरसबाट हुने यो रोगबाट बच्न निर्देशनालयले चौपायामा सुई लगाएको थियो र रोगलाई समयमै नियन्त्रणमा लिन सफल भएको थियो ।

खासगरी कोभिडको समयमा अष्ट्रेलियाबाट भित्रिएको यो रोग यस वर्ष कोशी प्रदेशको सोलुखुम्बु जिल्ला बाहेक सबै जिल्लाका चौपायामा देखिएको थियो भने पाँचथर र तेह्रथुम जिल्लामा यो रोगबाट कुनै पनि चौपायाको मृत्यु नभएको चिकित्सक पाण्डेले बताए । गाईभैँसीमा लाग्ने यो रोग लागेपछि जीउमा गिर्खा जस्तो देखिने, ज्वरो आउने, घाउ हुने फुट्ने, तौल घट्ने, कमजोर हुनेजस्ता लक्षण देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update