Odapalika - The Fourth Estate - चौथो अंग
महानगर बासीलाई डिजिटल साक्षरता प्रशिक्षण प्रदान गरिँदै 

काठमाडौं - महानगर बासीलाई विद्युतीय सेवा सम्बन्धी काम गर्न सक्ने बनाउन, यस्तो सेवा लिँदा हुन सक्ने इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्ने काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि समितिले निर्णय गरेको छ ।

आज समितिका संयोजक एवं प्रवक्ता नवीन मानन्धरको अध्यक्षतामा बसेको बैठकले, प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा प्रयोग गराउन तथा प्रविधिजन्य जोखिमबाट बचाउन यस प्रकारको प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘प्रविधिको प्रयोगसँगै इन्टरनेटको सही उपयोग र आधारभूत डिजिटल सुरक्षाका बारेमा हरेक व्यक्तिलाई थाहा हुनुपर्छ’ प्रवक्ता मानन्धरले भने, ‘प्रविधिको उपयोगले जीवनलाई जति सहज बनाउँछ, चलाउँदा ख्याल गरिएन भने जोखिम पनि उत्तिकै बढाउँछ । प्रविधिको सही प्रयोगबाट सेवामा सहज पहुँच बढाउन र यसमा हुन सक्ने जोखिमबाट महानगर बासीलाई बचाउन प्रशिक्षण चाहिएको हो ।’

समितिका सदस्य एवं वडा २९ का अध्यक्ष कुश ढकालले भने, ‘हामी डिजिटल भुक्तानीलाई प्रवर्धन गरिरहेका छौँ । यसरी भुक्तानी गर्दा अपनाउनु पर्ने सुरक्षा विधिका विषयमा भनेका छैनौँ । हामीले कार्यान्वयन गर्न चाहेको विद्युतीय शासनको प्रभावकारी कार्यान्वयनमा लागि नागरिकहरूलाई आत्मविश्वासका साथ प्रविधि चलाउन सक्ने बनाउनु पर्छ । साइबर सुरक्षाका विषयमा जानकार बनाउनु पर्छ । यो दायित्व हाम्रै हो । प्रशिक्षणबाट यो दायित्व पूरा हुन्छ ।’

समितिका सदस्य सचिव एवं सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार वडा नम्बर १७, १८, १९ र २९ मा प्रशिक्षण सुरु गरेर क्रमशः अन्य वडामा विस्तार गर्दै लगिनेछ । डिजिटल साक्षरतालाई प्रशिक्षार्थीको सूचना प्रविधिसँगको ज्ञानका आधारमा आधारभूत, मध्यम र विशिष्ट विषय राखेर प्रशिक्षण गराउन सकिने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update