काठमाडौं- नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारको सिफारिस गर्न परिपत्र गरेको छ । तल्ला तहका समितिबाट उम्मेदवार सिफारिस गर्न कांग्रेसले सोमबार परिपत्र गरेको हो ।
कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ ।
परिपत्रअनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी जिल्ला कार्यसमितिलाई २५ मंसिरभित्र प्रदेश कार्यसमितिमा पठाउन भनिएको छ ।
प्रदेश कार्यसमितिलाई प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी मंसिर मसान्तभित्र केन्द्रमा पठाउन परिपत्रमार्फत् निर्देशन दिइएको छ। एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रक्रिया पुर्याएर बैठक बसी आफ्नो रायसमेत उल्लेख गरेर जिल्ला कार्यसमितिले २५ मंसिरभित्र उम्मेदवारको नाम प्रदेश कार्यसमितिमा पठाउनु पर्ने परिपत्रमा भनिएको छ ।
कांग्रेसले मंसिर मसान्तभित्र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस पठाइसक्न समेत निर्देशन दिएको छ ।







