Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरपालिकामा २२औँ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस भव्य रूपमा सम्पन्न

काठमाडाैँ । ललितपुर महानगरपालिकाले २२औँ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आइतबार भव्य रूपमा मनाएको छ। महानगरको प्राङ्गणमै आयोजित कार्यक्रम नगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, कर्मचारी तथा २९ वटै वडाका स्वयंसेवकहरूको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा ललितपुर महानगरसँग भगिनी सम्बन्ध रहेको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीको समेत विशेष उपस्थिति थियो।

कार्यक्रमले महानगरभित्र सक्रिय स्वयंसेवकहरूको आर्थिक, सामाजिक तथा सामुदायिक विकासतर्फको महत्वपूर्ण योगदानलाई औपचारिक रूपमा सम्मान गर्ने उद्देश्य राखेको थियो। महानगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेका स्वयंसेवक तथा अवकासको तयारीमा रहेका महिला–पुरुष स्वयंसेवकहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको थियो।

स्वयंसेवकहरूको ठूलो योगदानका कारण नै महानगर धेरै क्षेत्रमा अनुकरणीय बन्दै गएको नगर प्रमुख चिरीबाबु मर्हजनले बताए । उनले नगर भित्रका धेरै ठाँउमा राज्य पुग्न नसक्ने ठाउँमा स्वयंसेवक पुगेको भन्दै प्रशंसा समेत गरेका थिए। उनले भने, “ स्वंयसेवकहरुको काम र समर्पणलाई सम्मान गर्नु महानगरको दायित्व मात्र होइन, गौरव पनि हो । ”

त्यसैगरी ललितपुर महानगरकी प्रमुख प्रशासकिय अधिकृत रेखा दास श्रेष्ठले योजनाको कार्यान्वयनदेखि समुदायमा सचेतना फैलाउनेसम्म सबै क्षेत्रमा स्वंयसेवकहरुको सक्रियता प्रशंसनीय भएको बताईन । उनले स्वंयसेवकहरुको सबै माग भने अनुसार पुरा गरेको समेत बताईन । उनले भनिन, “ स्वंयसेवकहरुको सबै माग हामीले पुरा गरेका छौ । अब एउटै माग कार्यविधी बनाउन बाँकी छ , त्यसलाई पनि हामी ३ महिना भित्र बनाएर हजुरहरुलाई प्रस्तुत गर्छौ । ”

कार्यक्रममा सम्मान ग्रहण गरेकी महिला स्वयंसेवी मिना शाक्यले लामो समयदेखि समुदायमा स्वास्थ्य, सरसफाइ, महिला सशक्तिकरण र सामाजिक सेवा क्षेत्रमा निरन्तर गर्दै आएको कामको सम्मान पाउदा खुसी भएको बताईन । उनले भनिन, “समुदायका लागि काम गर्नु नै मेरो प्रेरणा हो। महानगरले दिएको आजको सम्मानले अझ जिम्मेवारी थपिएको महसुस गरेको छु। आगामी दिनमा पनि समाजका लागि निरन्तर काम गर्दै जानेछु । ” 

कार्यक्रमको समापनमा ललितपुर महानगरका प्रवक्ता राजु मर्हजनले आजको दिनले स्वयंसेवक गतिविधिहरूको प्रवर्द्धन गर्न र थप मानिसहरूलाई सामुदायिक सेवामा सहभागी हुन प्रोत्साहन गर्न थप टेवा पुग्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update