Odapalika - The Fourth Estate - चौथो अंग
सिंहदरबारलाई पाख्रिबासका मेयरको पत्रः हाकिम नभएर गाईभैसी ब्याउन फरक पर्दैन, दिनै बेग्लै प्रमुख प्रशासकीय अधिकृत पठाए हुन्छ

काठमाडौँ । धनकुटाको पाख्रिबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइरहने प्रबृत्तिप्रति रोचक ढंगले दिक्दारी पोखेका छन् । 

प्रमुख प्रशासकीय अधिकृतविना दैनिक प्रशानिक र आर्थिक कार्यमा समस्या सिर्जना भएको उल्लेख गर्दै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र नै लेखेर दिक्दारी पोखेका हुन् ।

मंसिर २२ गते मन्त्रालयलाई पत्र लेख्दै उनले नगरपालिकामा दैनिक प्रशासनिक र आर्थि कामकाज हुँदा र नहुँदा सो क्षेत्रमा धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाईभैसी ब्याउन, दूध उत्पादन गर्न, सिंचाईं गर्न जस्ता कार्यमा फरक नपर्ने भएकाले प्रत्येक महिना वा सम्भव भए दिनदिै छुट्टाछुट्टै एक एक जना प्रमुख प्रकाशकीय अधिकृत तोकि पठाउँदा पनि फरक नपर्ने बताएका छन् ।

‘यस पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाई गर्न, फलफूल लगाउन फूल्न, फल्न र सोको निकासा गरी विक्रिवितरण गर्न कुनै समस्या नरहेकोले तहाँ मन्त्रालयबाट प्रत्येक महिना र महिनामा वा सम्भव भए दिनदिनै छुट्टा छुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकि पठाउदा पनि फरक नपर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ,’ मेयरले लेखेको पत्रमा उल्लेख छ ।

मेयर गुरुङले सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पनि दिएका छन् ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाको सरुवा गरिदिएपछि मेयर गुरुङ रुष्ट भएका हुन् । कोइराला २०८१ चैतमा सो नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएका थिए । सोभन्दा अगाडि २०८१ साउनमा पुरुषोत्तम ढकाल सो नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update