Odapalika - The Fourth Estate - चौथो अंग
लालीगुराँस नगरपालिकामा माटोको उर्वराशक्ति जोगाउने अभियान

धनकुटा : मानव स्वास्थ्य र माटोको उर्वराशक्ति जोगाउने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक (प्राङ्गारिक) कृषि प्रणालीलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ। 

रासायनिक मलको अत्यधिक प्रयोगले माटो कमजोर र स्वास्थ्यमा जोखिम बढाइरहेको अवस्था मध्यानजर राख्दै, नगरपालिका नौवटै वडामा स्थानीय कृषकको सहभागितामा अर्गानिक खेती विस्तार गर्दै आएको छ। 

नगरप्रमुख अर्जनु माबोहाङका अनुसार, रसायनयुक्त खाद्य पदार्थको दीर्घकालीन सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ। त्यसैले नगरपालिका अर्गानिक उत्पादनलाई मुख्य कार्ययोजना बनाएर अघि बढाएको हो। यसका लागि सहभागितामूलक प्राङ्गारिक गुणस्तर निर्धारण प्रणाली तयार गरी कार्यान्वयनमा ल्याइएको छ, जसले किसानलाई गुणस्तरीय अर्गानिक उत्पादनतर्फ प्रेरित गरेको छ।

किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न नगरपालिका तयार छ भने आवश्यक परे समर्थन मूल्यमा खरिद गरेर बजारसम्म पु¥याउने योजना पनि छ। उपप्रमुख जमुना कार्की मगरले नगरपालिकाले अर्गानिक उत्पादनको ढुवानी सहज बनाउन दुईवटा कृषि एम्बुलेन्स परिचालन गर्ने योजना बनाएको छ, जसमध्ये एउटा एम्बुलेन्स पहिले नै खरिद भइसकेको छ।

नगरपालिकाले किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न निःशुल्क बिउविजन, टनेल, पाइप, हेलटेक, अन्य सामग्री, तालिम, प्राविधिक सहयोग र १ देखि ४ रोपनीमा खेती गर्ने कृषकका लागि विशेष अनुदान उपलब्ध गराइरहेको छ। नगरपालिकाको कृषि शाखा प्रमुख आर्यल लिम्बूका अनुसार, अहिलेसम्म १ हजार २ सय ७५ जना किसानले अर्गानिक कृषि प्रणाली अपनाइसकेका छन् र यो संख्या बढ्दो रहेको छ।

किसानले गाई–भैँसीको मलमूत्र, तितेपाती, असुरो, खरानी जस्ता प्राकृतिक स्रोत प्रयोग गरी रोग–कीरा नियन्त्रण गरिरहेका छन्। यसले माटोको उर्वराशक्ति दीर्घकालीन रूपमा जोगाउन सहयोग पुर्‍याउने गरेको लालीगुराँस नगरपालिका- ५ दाँगपाका किसान पदम लिम्बू बताउँछन्। रासायनिक मल–विषादीको खर्च कम हुनु, स्वास्थ्यमा पर्ने असर न्यूनिकरण हुनु र फसल उत्पादनमा सुधार देखिनु अर्गानिक खेतीतर्फ प्रेरित गर्ने प्रमुख कारण बनेको छ। 

हाल नगपालिकाका सबै वडामा तरकारी, अन्नबाली र फलफूलमा अर्गानिक विधि अपनाउने कृषकको संख्या तीव्र रूपमा बढिरहेको छ। नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ४५ औँ विश्व खाद्य दिवसको अवसरमा लालीगुराँस नगरपालिकालाई स्वच्छ खाद्यवस्तु उत्पादन र दिगो कृषि योगदानको कदर गर्दै सम्मान गरेको थियो। 

नगरभित्रका कृषकले आलु, बन्दा, मटर, सागसब्जी लगायतका बालीमा अर्गानिक विधि अपनाउँदै, स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपभोक्तासम्म पुर्‍याउने लक्ष्य पूरा गरिरहेका छन्। नगरपालिकाको यो अभियानले लालीगुराँसलाई अर्गानिक कृषि उत्पादनको नमुना क्षेत्रका रूपमा विकसित गर्दै लगेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update