Odapalika - The Fourth Estate - चौथो अंग
प्राचीन स्मारकहरूलाई परम्परागत निर्माण सामग्रीबाट पुनरुत्थान गर्दै कामपा २३ 
सांकेतिक तस्वीर

काठमाडौं- भौतिक सम्पदा स्थलहरूको संरक्षण, मर्मत तथा सम्भारका क्रममा विगतमा भएका त्रुटि सच्याउन काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले सर्वेक्षणको काम थालेको छ । प्राचीन सम्पदाका कुनै भाग टुटफुट भएमा त्यसलाई अड्याउन, थप बिग्रिन नदिन सिमेन्ट लगायत आधुनिक निर्माण सामग्री प्रयोग भएको छन् ।

‘यो काम सम्पदाको जग, पर्खाल, पेटी, गजुर, छाना लगायत विभिन्न ठाउँमा भएका छन् । जानी नजानी गरिएका यस्ता त्रुटि सच्याउनका लागि काम थालिएको हो,’ वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिए।

महर्जनका अनुसार वडाभित्र किराँत काल, लिच्छवीकालदेखि का भौतिक सिर्जनाहरु छन् । मन्दिर, चिबहा जस्ता हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित ८० वटा सम्पदा छन् । जीवित देवी श्रीकुमारीको निवास स्थान, नास द्यः, अट्को नारायण, जोर गणेश वडाका नाम चलेका सम्पदा हुन् ।

यी हरेक सम्पदासँग सम्बन्धित विशेष तथा वार्षिक पूजाआजासहितका धार्मिक र सामाजिक संस्कार सञ्चालन हुने गरेका छन् । उनले थपे, ‘पुनरुत्थानका क्रममा आधुनिक निर्माण सामग्री हटाएर परम्परागत सामग्रीबाट मर्मत सम्भार गर्छौँ । हराएका वा जीर्ण भएका कारण हटाइएका बस्तु, सामग्री पुरस्थापना र संरचना भए पुनर्निर्माण गराउँछौँ ।’

वडाले थालेको यो कामको प्रशंसा गर्दै स्थानीय सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ भन्छन्, ‘पुरिएर आधा संरचना भएका चिवहाः लाई वडाले वास्तविक स्वरूपमा फर्काएर घुम्ने ठाउँ, पूजाआजा गर्ने ठाउँ बनाइदिएको छ । यसले केवल भौतिक संरचनाको मौलिकपन मात्र फर्काएको छैन, धार्मिक आस्था र सामाजिक जीवनमा प्राण समेत भरेको छ ।’

वडाभित्र ४ हजार ६ सय मतदाता हुनुहुन्छ । करिब ७ हजार व्यक्तिहरू अस्थायी बसोबास गरिरहेका छन्। वडाभित्र १ हजार ९३७ घर सङ्ख्या रहेको छ । ९ वटा परम्परागत गुठी वडामा सूचीकृत छन् । यी गुठी हरु कुनै न कुनै रूपमा श्रमसँग जोडिएका छन् ।

वडाबाट चल्ने सबैभन्दा ठुलो जात्रा, येँःया (इन्द्रजात्रा) हो । यसबाहेक वडावासीहरूले पाहाँचरे, सकी मिला पुन्ही, यमरी पुन्ही, चथा (गणेश चतुर्दशी), गुँला, यंलासहितका संस्कार मनाउँछन् ।

गुंला पर्वमा स्वयम्भू जाने चलन छ । वडाध्यक्ष महर्जनका अनुसार यंला महिनामा (थने) माथिल्लो टोलका स्थानीयहरू आफ्ना आफ्ना पीठमा, दथु टोल (मध्य सहरका स्थानीय) ल्हुति र म्हेपिमा र कोने (तल्लो टोल) का मानिसहरू पचली भैरव जाने चलन छ । भौतिक सम्पदाको पुनरुत्थानले सामाजिक प्रचलनका सम्बन्धहरूलाई दिगो बनाउने वडाको अपेक्षा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update