काठमाडौं- काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ ले वडा प्रोफाइल सार्वजनिक गरेको छ । शुक्रबार धर्म पथमा रहेको सांस्कृतिक भवनमा एक कार्यक्रम आयोजना गर्दै वडा प्रोफाइल र साहित्यकार शान्त दास मानन्धर स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो ।
नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर, महानगरपालिकाको विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जन, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, नेवा: देय् दबुका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य र साहित्यकार खगेन्द्र संग्रौला संयुक्त रूपमा पुस्तकहरू सार्वजनिक गरेका हुन्।
कार्यक्रममा कुलपति सुन्दरले, साहित्यकार मानन्धरकै कारणले अहिलेको सार्वजनिक स्थान प्राप्त गरेको उल्लेख गरे । नेपाल भाषा, साहित्य र संस्कृति बचाउन मानन्धरले देखाउनुभएको बाटो अनुकरणीय रहेको उनको भनाइ थियो ।
त्यस अवसरमा बोल्दै वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले भने, ‘वडाको अवस्थालाई हामीले तथ्यमा उतार्ने प्रयास गरेका छौँ । यसले आवश्यकतामा आधारित विकास तथा सेवा प्रवाहको योजना तर्जुमा गर्न मद्दत गर्नेछ । बजेटको भार निर्धारण गर्न सहयोग गर्नेछ ।’
साहित्यकार मानन्धरका साहित्यिक र सामाजिक जीवनका विषयमा कुरा गर्दै उनले भने,‘करिब २०२३ सालतिरका वडाध्यक्ष मानन्धरको साहित्यिक जीवन जत्तिकै सामाजिक जीवन पनि अनुकरणीय छ ।’
प्रोफाइलमा वडाभित्र बसोबास गर्ने स्थायी र अस्थायी मानिसहरूको सङ्ख्या, जातजाति, विभिन्न रोगबाट प्रभावित व्यक्तिहरूको सङ्ख्या र रोगको प्रकार, बेरोजगार व्यक्ति, स्वरोजगार व्यक्ति, अपाङ्गता भएका, विदेश पलायन भएका व्यक्तिहरूको सङ्ख्या समावेश गरिएको छ ।
यस्तै घरपालुवा जनावर, सडक, मार्गको अवस्था, घर, भवन, मठमन्दिर, वहा, बही, इनार, चोकको सङ्ख्या र अवस्था, स्वास्थ्य सेवा प्रदायकहरुको स्थान र सङ्ख्या, रेष्टुरेन्ट, किराना पसल, कपडा पसलहरूको प्रकार र स्थान लगायत विवरणमा आधारित तथ्याङ्क प्रोफाइलमा समेटिएको वडाध्यक्ष महर्जनले जानकारी दिए।
कार्यक्रममा आयोगका सदस्य मानन्धर, दबुका केन्द्रीय अध्यक्ष बज्राचार्य र साहित्यकार संग्रौलाले साहित्यकार मानन्धरको साहित्यिक जीवन, बाल साहित्यमा उनको लेखन शैली र विशेषतालाई आयामिक प्रसङ्गका रूपमा चर्चा गरेका थिए।






