Odapalika - The Fourth Estate - चौथो अंग
सप्तकोशी नगरपालिकाका मेयरलाई प्रश्नः बैंकका कर्मचारीलाई मोसो दलेर तपाईंको पालिकाको विकास हुन्छ ?

काठमाडौँ । मंसिर २५ गते सप्तरीको सप्तकोशी नगरपालिका–७ मा ज्योति विकास बैंकका २ कर्मचारीमाथि कालोमोसो दल्ने र दुव्र्यवहार गर्ने कार्य भयो । सो वडामा रहेको इन्ट्रिग्रेटेड एग्रो फार्मका सेयरधनीले बैंक कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । 

सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिले २३ वैशाख २०७८ मा ज्योति विकास बैंकबाट ४ करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो । ऋण लिँदा कम्पनीको नाममा रहेको ओद्राहास्थित तीन बिघा १४ कट्ठा र कञ्चनरूप नगरपालिका– १२ मा रहेको १६ कट्ठा आठ धुर जग्गा धितो राखिएको थियो । तर, २८ चैत ०८१ यता किस्ता नतिरेपछि बैंकले अघिल्लो साता धितो लिलामीको सूचना निकालेको थियो ।

चार जना ऋणीले पशुपालन, माछा, कुखुरा, बाख्रा, हाँस पालन र तरकारी खेती गर्ने उद्देश्यले इन्टिग्रेटेड एग्रो फार्मको नाममा ऋण लिएका थिए ।

कर्जाको किस्ता आउन छोडेपछि बैंकले कर्जा असुलीमा जोड गरेको थियो । ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दल्नुका साथै कुटपिट घटनापछि बैंकले सप्तकोशी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरीसहित सातजनाविरुद्ध प्रहरीमा अपहरण, शरीर बन्धक, कुटपिट र लुटपाटसम्बन्धी कसुरमा जाहेरी दिएको थियो । 

बैंकले उपमेयर रीताकुमारी चौधरी, उनका पतिसमेत रहेका सेयरधनी सञ्जीवकुमार चौधरी  र छोराहरू सिरज र पञ्चदेवविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गरेको थियो । यस्तै, सेयरधनी प्रभुनारायण चौधरी, ऋणी तथा सेयरधनी उमाकान्त चौधरी र रवीन्द्र स्वर्णकारको नाम पनि जाहेरी परेको थियो ।

जाहेरी परेपनि बैंक कर्मचारीलाई दुव्र्यवहान गर्नेहरुलाई प्रहरीले पक्राउ गरेन । त्यसपछि नेपाल बैंकर्स एसोसिएसन, विकास बैंकर्स एसोसिएनलगायत बैंक तथा वित्तीय संस्थाहरुसँग सम्बन्धी सरोकारवालाले सो विषयमा गम्भीर चासो जनाए । चौतर्फि दबाब सिर्जना भएपछि प्रहरीले उमाकान्त चौधरी र सन्जीव चौधरीलाई पक्राउ गरेको छ ।

यो विषयमा नेपाल राष्ट्र बैंक पनि बोलेको छ । ऋणीले लिएको कर्जाको भुक्तानी नियमित गर्नुपर्ने भन्दै राष्ट्र बैंकले सबैको प्रयास स्वरुप सबै स्थानमा पुगेका बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय सेवा लिन सहज भएको स्मरण गराएको छ ।

‘नेपाल सरकार, यस बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको छ । कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ,’ राष्ट्र बैंकले पुस १ गते विज्ञप्ति जारी गर्दै भनेको छ ।

‘बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्घ भएका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ । साथै, बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न नेपाल राष्ट्र बैंक अनुरोध गर्दछ,’ विज्ञप्तिमा थप भनिएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिकाको घटनाले बैंकिङ क्षेत्र नै तरंगित भएको छ । तर, विगतमा पनि कर्जा असुलीमा स्थानीय सरकारहरुले सहयोग नगरेको गुनासो बैंक तथा वित्तीय संस्थाहरुले गर्ने गरेका छन् ।

यसै सन्दर्भमा वडापालिकाले सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकालसँग सम्पर्क गरी ऋण उठाउन आउने बैंकका कर्मचारीलाई मोसो दलेर तपाईंको नगरपालिकामा आर्थिक विकास र जनताको जीवनस्तरमा सुधार हुन्छ भनेर सोधेको छ । मेयर ढकालले यस विषयमा आफूलाई धेरै जानकारी नभएकोले अहिले नै यसै भन्न नसक्ने बताए ।

‘म अहिले कार्यक्रमको सिलसिलमा दाङमा छु । धेरै कुरा बुझ्न पाएको छैन । तर, बैंकका कर्मचारीलाई दुव्र्यवहार गर्ने कार्य राम्रो होइन । बैंकका कर्मचारी पनि किन गएका थिए, त्यहाँ किन त्यस्तो दुखद परिस्थिति सिर्जना भयो भन्ने विषयमा मलाई जानकारी छैन । बैंकले पनि र ऋणीले पनि नीति नियमभित्र बसेर काम गर्नुपर्यो । नीति नियमभित्र बसेर काम गर्ने बैंक तथा वित्तीय संस्थालाई हामी सहयोग र संरक्षण गर्न तयार छौं, गरिरहेका छौं,’ मेयर ढकालले वडापालिकासँग भने ।

उनले आफू फर्केपछि यथार्थ बुझेर आवश्यक कदम चाल्ने बताए ।

यो विषयमा वडापालिकाले सप्तकोशी नगरपालिका–७ का वडाध्यक्ष जितन चौधरीसँग पनि सम्पर्क गरेको छ । वडाध्यक्ष चौधरीले पनि सो विषयमा आफूलाई धेरै जानकारी नभएको बताए ।

‘घटना घटेको समयमा म मलाम गएको थिएँ । के कसो भएको थियो भनेर आफैले देख्न पाइनँ । यो विषयमा अहिले प्रहरीले काम गरिरहेको छ भन्ने सुनेको छु, थप जानकारी भएन,’ वडाध्यक्ष चौधरीले वडापालिकासँग भने ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update