Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री र लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिरासतबाट बाहिर आएको भोलिपल्ट आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो औपचारिक भेट हो । 

पार्टीका नेताहरू डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र सोविता गौतमसहित बालुवाटार पुगेका लामिछानेसहितको टोलीले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए । 

उनीहरूले जेनजीआन्दोलनका क्रममा उठेका मागहरू सम्बोधन गर्न आग्रह गरे । साथै, नेताहरूले संघीय निर्वाचनमा मतदान तथा उमेदवारीको उमेरहद घटाउन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

उनले भने, "विशेष गरी भदौ २३ र २४ गतेका घटनाहरूसँग सम्बन्धित रहेर जेनजी उमेर समूहका साथीहरूले सरकारसँग गरेका सम्झौता र तिनको कार्यान्वयनको अवस्थाबारे हामीले चासो राख्यौँ ।" 

नेता खनालले सरकारको एकमात्र र प्रमुख कार्यभार निर्वाचन गराउनु रहेको भन्दै फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीबारे सरकारको ध्यानाकर्षण गराएको बताए । 

प्रधानमन्त्री र सभापति लामिछानेबीच सुरुमा भएको 'वान–टु–वान' भेटलाई भने खनालले लामो समयपछिको भेटघाट भएकाले पारिवारिक र व्यक्तिगत कुराकानीका रूपमा अर्थ्याए ।

भेटमा समसामयिक राजनीतिबाहेक लामिछानेमाथि लगाइएका मुद्दा र राजनीतिक प्रतिशोधको विषयमा पनि छलफल भएको नेता सोविता गौतमले जानकारी दिइन् । उनले अदालती प्रक्रियामा आफूहरूको हस्तक्षेप नहुने तर विगतको सरकारले बदनियतपूर्वक गरेको अधिकारको दुरुपयोग सच्याउनुपर्ने कुरा प्रधानमन्त्रीलाई बताइएको जानकारी दिइन् ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update