Odapalika - The Fourth Estate - चौथो अंग
शीतलनिवासमा साढे २ घण्टा छलफल, चुनाव सफल बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल गराउन सरकार र राजनीतिक दलहरूसँग आग्रह गरेका छन् ।

सरकार र राजनीतिक दलको नेतृत्वलाई एकै ठाउँ राखेर राष्ट्रपतिले चुनाव सफल बनाउन आग्रह गरेका हुन् । तर, दलहरूले भने चुनावका लागि वातावरण नबनेको कुरा दोहोर्‍याएका थिए ।

राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको छलफलमा पौडेलले चुनावमार्फत निकास खोज्न आग्रह गरेका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी बनेको जानकारी दिए । ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो’ पौडेलको भनाइ उद्धृत गर्दै उनको सचिवालयले उल्लेख गरेको छ ।

जेनजी आन्दोलनको बलमा बनेको सरकारकी प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच मंगलबार पहिलोपटक औपचारिक भेट भएको हो । चुनावबारे अन्योल बढ्दै गएको बेला राष्ट्रपतिले छलफलका लागि पहलकदमी लिएका थिए । 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update