काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह 'बालेन'लाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोस्रो वरीयताको नेता बनाउने भएको छ।
बालेन र रास्वपाबीच आइतबार बिहान ४.१५ मा सात बुँदे सहमति भएको थियो । सहमतिको बुँदामा नसमेटिए पनि बालेन रास्वपाको दोस्रो वरीयताको नेता रहने तय भएको रास्वपा स्रोतले जानकारी दियो ।
सहमतिको बुँदा नम्बर ४ मा रास्वपा सभापति रवि लामिछाने रहने र २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपश्चात बालेन शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ।
यो सहमतिपश्चात बालेन रास्वपामा समाहित हुँदैछन् । बालेन र उनको समूहलाई पार्टीमा जोड्न अहोरात्र मेहनत गरेको रास्वपा स्रोतका अनुसार अब बस्ने पार्टी केन्द्रीय समिति बैठकले बालेन र रास्वपाबीच भएको सहमति अनुमोदन गर्नेछ। उनलाई केन्द्रीय सदस्यको रूपमा औपचारिक रूपमा पार्टीमा प्रवेश गराउने छ।
यति भनिरहँदा पार्टीमा बालेनको पोजिसन के हुन्छ भन्ने प्रश्न स्वभाविक छ। उक्त स्रोतका अनुसार बालेनलाई रास्वपाले दोस्रो वरीयताको नेताको दर्जा दिने तयारी भएको छ। दोस्रो वरीयता भनेपछि उपसभापति बनाउने हो ? भन्ने प्रश्नमा भने स्रोतले कुनै पनि पद नदिइने बतायो। बालेनलाई सभापतिपश्चात दोस्रो वरीयताको वरिष्ठ नेता मान्ने तयारी रास्वपाको छ।
बालेन आफैंले पनि यो वा त्यो पद तथा वरीयताको कुरा नगरेको स्रोतले बतायो । बालेनले आफू केन्द्रीय सदस्य मात्र बस्न तयार भएको भनेर शनिबार रातिको छलफलमा पनि प्रस्ट बताएको छलफल र सहमतिमा सहभागी स्रोतले जानकारी दियो ।
‘उहाँले पार्टीको केन्द्रीय सदस्य मात्रै बस्ने बताउनुभएको छ। तर, हाम्रो हिसाबले पार्टीले यो सम्झौता पहिला अनुमोदन गर्नुपर्छ र अनुमोदनसँगै उहाँलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्छ,’ स्रोतले भन्यो, ‘वरीयताका हिसाबले उहाँलाई दोस्रो स्थानमा राख्ने प्रस्ताव छ। यो कुनै औपचारिक पद (सभापति, उपसभापति आदि) होइन, सम्मानका आधारमा हुने व्यवस्था हो; भावी संसदीय दलको नेता र प्रधानमन्त्रीको रूपमा।’
हाल पार्टी वरीयतामा डोलप्रसाद अर्याल दोस्रो र डा. स्वर्णिम वाग्ले तेस्रोमा छन्। अर्याल र वाग्ले पद एक तह घट्दै तेस्रो र चौथो वरीयतामा आउने भएका छन् । जसमा अर्याल र वाग्ले पनि सहमत रहेको स्रोतको दाबी छ।







