Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउँदै

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) उमेदवार टुंगो लगाउने भएको छ । 

पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै छ । 

बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँगको चुनावी तालमेललगायत विषय र उमेदवारको विषय टुंगो लगाउने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

सोमबारको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायत दलहरूसँग पार्टीको शीर्ष तहबाट छलफल भइरहेकाले मंगलबार बैठक बसेर निर्णय लिने निष्कर्ष निस्किएको प्रवक्ता महतले बताएका थिए ।  

राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूसँग छलफल गरिरहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update