काठमाडौं । प्रहरीले कारागारबाट फरार व्यक्तिसहित मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जुम्लाको सिन्जा गाउँपालिका–२ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–११, डाँडागाउँ हिलेटोलस्थित डेरा गरी बस्ने २० वर्षीय हरिशंकर शर्मा र काठमाडौं महानगरपालिका–१८, नरदेवीका २० वर्षीय रोहित खड्गी शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार, शर्माको डेरामा लुकीछिपी बसिरहेको अवस्थामा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट भागी फरार भएको चोरी मुद्दाको प्रतिवादी रोहितलाई प्रहरीले फेला पारेको हो ।
यसैगरी निज शर्माकै कोठामा काठमाडौं वसुन्धराबाट चोरी भएको लु५८प ३९७५ नम्बरको रातो रङको एफजेड मोटरसाइकल, भक्तपुर ठिमी एरियाबाट चोरी भएको वास्तविक नम्बर प्लेट वाग्मती प्रदेश ०२–०६२५ ६३७० लाई हटाई वाग्मती प्रदेश ०२–०६० प ९७८६ नम्बरको नक्कली नम्बर प्लेट जडान गरेको अवस्थाको केटिएम डुक मोटरसाइकल र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत फेला पारको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
यसैबीच प्रहरीले सुनका गरगहना लगायतका सामान चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।







