Odapalika - The Fourth Estate - चौथो अंग
विशेष महाधिवेशनमा सहभागी हुन गगन‍-विश्वको आह्वान

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।

पार्टी विधान पालना गर्दै विशेष केन्द्रीय महाधिवेशन हुन लागेको भन्दै महामन्त्रीद्वय थापा र शर्माले त्यसमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्।

बुधबार जारी संयुक्त आह्वानमा उनीहरूले नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले राजनीतिक दलको विधान लोकतान्त्रिक हुनुपर्ने र सोही विधानअनुसार पार्टीका सम्पूर्ण गतिविधि सञ्चालन हुनुपर्ने स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गरेका छन् । 

नेपाली कांग्रेसको विधान, २०१७ (दशौँ संशोधन २०७८) अनुसार केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय भएको र विशेष केन्द्रीय महाधिवेशन बोलाउने स्पष्ट व्यवस्था रहेको उनीहरूको भनाइ छ।

विधानको धारा १७ (२) बमोजिम केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले विशेष कारणसहित माग गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको उनीहरूले सम्झाएका छन् ।

यही प्रावधानअनुसार २ हजार ४ सय ८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावनाअनुसार नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टी पुनर्निर्माण गर्न विशेष महाधिवेशन आवश्यक रहेको भन्दै निवेदन दर्ता गरिसकेको महामन्त्रीद्वयले बताएका छन्।

‘केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर हामीले अधिकतम प्रयास गर्‍यौं, तर केन्द्रीय कार्यसमितिबाट यो सम्भव हुन सकेन’, आह्वानमा भनिएको छ । 

विधानले विशेष महाधिवेशन माग भएपछि नबोलाउने अवस्थाको परिकल्पना नगरेको र यस्तो मागलाई असान्दर्भिक वा औचित्यहीन ठहर गर्ने अधिकार कसैलाई नदिएको उनीहरूको दाबी छ ।

पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशन कानूनी र राजनीतिक रूपमा अपरिहार्य तथा बाध्यकारी बनेको उल्लेख गर्दै विधान बमोजिमको जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य भएको महामन्त्रीद्वयले स्मरण गराएका छन् । विधानको पालना नगर्नु संविधान र राजनीतिक दलसम्बन्धी कानुनविपरीत हुने उनीहरूको भनाइ छ।

उनीहरूले विशेष महाधिवेशनलाई ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ भएको उल्लेख गर्दै पार्टीमा नयाँ ऊर्जा भर्ने र जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update