Odapalika - The Fourth Estate - चौथो अंग
विरुवा गाउँपालिकामा करारका २०० शिक्षक सामाजिक सुरक्षा कोषमा, अध्यक्ष भन्छन्– जरुरी छ

काठमाडौँ । स्याङ्जाको विरुवा गाउँपालिकाले करारका शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रिया अघि बढाएको छ ।

गाउँपालिकाले कार्यविधि नै बनाएर करारका शिक्षकलाई कोषमा आवद्ध गराउनको लागि सहयोगदान रकम प्रदान गर्न लागेको हो ।

स्थानीय सरकारहरु मानवपुँजी निर्माणमा लाग्नुपर्ने आवश्यकता देखिएकोले करारका शिक्षक तथा कर्मचारीलाई कोषमा आवद्ध गराउने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले बताए ।

‘नेपालमा बस्नेभन्दा विदेश जान्छु भन्ने नवयुवाको संख्या धेरै हुन थालेको छ । हाम्रा गाउँवस्तीहरु मानवविहिन बन्दै छन् । अबपनि भौतिक पूर्वाधार निर्माणमा मात्रै बढी ध्यान दिन थाल्यौं भने ती पूर्वाधार उपभोग गर्ने मानिस नै हुदैनन् कि भन्ने चिन्ता बढ्न थालेको छ । त्यसैले मानवपुँजी निर्माणमा जुट्न ढिला भइसकेको सन्दर्भमा हामीले सानो भएपनि पहल थालेका छौं,’ अध्यक्ष कुवरले भने ।

स्याङ्जाकै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्थानीय सरकारहरुसँग स्रोत साधन कम भएपनि समाजवाद स्थापनाको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै नागरिकलाई समावेश गर्दै लानुपर्ने आवश्यकताको कारण आफूहरु यो अभियानमा जोडिएको बताए ।

‘७५३ स्थानीय सरकारमध्ये ७ वटाले सामाजिक सुरक्षा कोषसँग समझदारीपत्रमा हस्ताक्षर गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराइ सहयोगदान रकम उपलब्ध गराइरहेका छन् । संविधानमा लेखिएको समाजवादतर्फ जाने हो भने औपचारिक मात्रै होइन, अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनु पर्छ । जसले मानवपुँजीको महत्व बुझेका छन्, जसले समाजवादतर्फको यात्रामा अघि बढ्ने योजना बनाएका छन्, उनीहरुले अनौपचारिक क्षेत्रका श्रमिकलाई सहयोगदान गरी कोषमा आवद्ध गराएका हुन्,’ अध्यक्ष सुवेदीले भने ।

अहिले देशभरका ७ स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई सहयोगदान गरी कोषमा आवद्ध गराइरहेकोमा स्याङ्जाका फेदीखोला र विरुवा गाउँपालिका छन् ।

यसै सन्दर्भमा गाउँपालिकाले एक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको छ । सो कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक कृष्ण अधिकारीले कार्यपत्र पेश गरेका थिए । उनले सामाजिक सुरक्षा कोषको माध्यमबाट स्वास्थ्यको जिम्मा राज्यले लिने परिस्थिति निर्माण हुने बताए । यस्तै, पेन्सनेवल सोसाइटी निर्माणमा पनि कोष अपरिहार्य भएको उनको भनाइ छ ।

विरुवा गाउँपालिको सो गाउँपालिका भित्रका अनौपचारिक क्षेत्रका श्रमिक र करारका कर्मचारीलाई कोषमा आवद्ध गराउने कार्यविधि नै निर्माण गरेको छ । सोही कार्यविधि अनुसार विद्यालय शिक्षक, विद्यालय कर्मचारी, विद्यालय सहायक कर्मचारी, बालविकास कर्मचारी, बालविकास सहयोगी कार्यकर्तालाई कोषमा आवद्ध गराउन लागिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update