Odapalika - The Fourth Estate - चौथो अंग
हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ५० लाख रुपियाँमा ५४ वटा घरको अग्रमोहडा सुधार गरिँदै 

काठमाडौं- आधुनिक भवन निर्माण प्रक्रिया र जीवनशैलीले रुपान्तरण भएको हाँडीगाउँको प्राचीनता फर्काउन काठमाडौँ महानगरपालिकाको केन्द्र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम भइरहेका छन् ।

यस क्रममा कृष्णमन्दिरदेखि डवलीहुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँवायाँका भवनहरुको अग्रमोहोडालाई मौलिक स्वरुपमा रुपान्तरणको काम सुरु हुन लागेको छ । ढुङ्गा विछ्याउनेसहितको यो कामका लागि ९ करोड ७३ लाख रुपियाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट छनोट भएको निर्माण पक्षसँग ९ करोड ४५ लाख रुपियाँमा सम्झौता गरिएको छ ।

यस मार्गमा मोहडा परिवर्तन गर्नुपर्ने ६३ वटा घरमध्ये ९ वटाको स्थानीय आफैँले परिवर्तन गर्नुभएको छ । अब ५४ वटाको सुधार गर्नु पर्नेछ । 

सहर विस्तारसँग निर्माण भएका तथा पुननिर्माण भएका भवनहरुका आधुनिक भएसँगै मौलिकता ह्रास आउन थालेको थियो । यसरी स्वरुप परिवर्तन भएका भवनहरुको झ्यालढोका, बालकोनी, गारो तथा पर्खालको पूर्ण तथा आंशिक परिवर्तन यसका मुख्य काम हुन् । यस क्रममा पाटी, फल्चा, मन्दिर, सामुदायिक भवन तथा सडक तथा पेटीको पुनरुत्थान गरिनेछ । 

मौलिक शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानो जस्ता भाग महत्वपूर्ण मानिन्छन् । घरको गारोमा प्रयोग गरिएका इटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको घर मौलिक घरको डिजाइन हो । 

किराँतकालीन टुँडालदेवीको जात्रा र लिच्छवीकालीन नारायण जात्रासहित वर्षौँदेखि सञ्चालन हुने गरेका जात्रा, पर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्परामा यो मार्गको अनिवार्य प्रयोग हुने गरेको छ । यस क्षेत्रमा कृष्ण मन्दिर, नारायण मन्दिर, २ वटा वुद्ध चैत्य, जरु (परम्परागत इनार), महादेव मन्दिर, अक्षय तृतियाका दिन सर्वत पानी वितरण गर्ने, दाफा भजन गाउनेसहित विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलाप सञ्चालन हुने सत्तलहरु छन् ।

यस क्षेत्रलाई वडाले हरेक शनिवार सवारी साधन प्रवेश निषेध क्षेत्र बनाएर परम्परागत उत्पादनहरुको प्रदर्शनी तथा मेला सञ्चालन गर्दै आएको छ । यसरी सञ्चालन हुने मेलामा ६५ वटासम्म प्रदर्शनी कक्ष हुने गरेका छन् । अहिलेसम्मको औसत आर्थिक क्रियाकलापमा दिनको ३३ लाख रुपियाँसम्मको कारोबार भएको तथ्याङ्क छ । 

‘यो क्षेत्र उपत्यकामा पूर्व लिच्छवि, वर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थान हो ।’ वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्छन्, ‘हाँडीगाउँको प्राचीनता फिर्ता गराउन कृष्णमन्दिरबाट ढोकावहाल, भुँवर कु, कोटाल टोल, गहनापोखरी, न्हाल्मा टोल हुँदै ढल्कोभित्रको भाग पुरानो सहर हो । यो क्षेत्रमा भएका भवनहरुलाई परम्परागत शिल्प र शैली देखिने बनाउने, सडकमा ढुङ्गा छाप्नेसहितका काम गर्दैछौँ ।’ 

प्रजापतीका अनुसार नरःदेमा इसापूर्व दोस्रो शताब्दीको पुरातात्विक अवशेष र सांस्कृतिक सम्पदा तथा भवनहरुको जग भेटिएका छन् । सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरका अवशेष पाइएको छ । उहाँ भन्नुहुन्छ, ‘यसैका आधारमा सहरलाई पुनरुत्थान गरिनेछ ।’ 

प्रजापतीका अनुसार वडाभित्र करिब ५५ करोड रुपियाँभन्दा धेरै लागतका ठूला योजनाहरु सञ्चालनमा छन् । यसमध्ये सानो गौचरणको फुटबल स्टेडियम करिब १८ करोड रुपियाँ लागतमा निर्माण हुँदैछ । व्यक्तिको कब्जामा पुगेको सार्वजनिक जग्गा फिर्ता गरेर पार्क निर्माण गरिँदैछ ।

यस प्रकृतिका पार्कहरुमा करिब ६ करोड ५० लाख रुपियाँमा स्केटबोर्ड पार्क, करिब २ करोड १५ लाख रुपियाँमा भत्केको पुलमा स्पोर्टस पार्क निर्माण भइरहेको छ । करिब १ करोड २५ लाख रुपियाँ लागतमा सामुदायिक भवन, करिब ८० लाख रुपियाँमा नर बुद्ध विहार,  करिब ५ करोड २४ लाख रुपियाँमा गहना पोखरी पुननिर्माण भइरहेका छन् ।

धोवीखोला करिडोरमा करिब २० लाख रुपियाँ लागतमा पार्क निर्माण हुँदैछ । यस्तै खहरे धोवीखोला दोभानमा ६० लाख रुपियाँमा पार्क निर्माण हुँदैछ । करिब १० करोड रुपियाँ लागतमा भित्री सहरी क्षेत्रमा ढुङ्गा छाप्ने, २ करोड ५० लाख रुपियाँमा धनगणेश मन्दिर र पार्क पुननिर्माण, भीमसेन स्थानमा करिब १ करोड ७५ लाख रुपियाँमा फल्चासहितको पुस्तकालय, करिब ३५ लाख रुपियाँमा पञ्चेधारा, करिब ५० लाख रुपियाँमा धनगणेश सत्तल, ३ करोड रुपियाँ मैतीदेवी पञ्चकुमारी द्यःछेँ, ४० लाख रुपियाँमा वडा भवन पुननिर्माण भएका छन् । करिब १ करोड ५० लाख लागतमा वडाभित्रका विभिन्न फल्चाहरु पुननिर्माण भइरहेका छन् । 

गहना खोज्ने पोखरी, कुमार कार्तिकेय र भीमसेनको मन्दिर, कृष्ण मन्दिर, टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल) र द्योछें (दथुटोलमा) यहाँका प्राचीन पहिचान हुन् । मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवीको धारा, अंशुवर्माको वडापत्र रहेको डबली, न्याल्मलोंह र (चौखटको चोक्ट्या नारायणको चोक र कैलाशकुट भवनको चमत्कारी तलाउ, भाटभटेनी (मौता द्यः), चारनारायण मन्दिर यसै क्षेत्रमा पर्छन् ।

यस क्षेत्रलाई मौलिक बनाउन अन्य वडाबाट प्रवेश गर्ने नाकाहरुमा प्रतीक चिन्ह राख्ने योजना रहेको वडा सदस्य शशी थापाले जानकारी दिए। 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update