Odapalika - The Fourth Estate - चौथो अंग
कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार

कास्की- गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्क बाहिर छन् । 

हालसम्म फरारमध्येमा नौ महिला र १५१ पुरुष रहेका कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार फरारमध्येमा १३ जना विदेशी नागरिक रहेकामा ११ भारतीय र दुई जना चिनियाँ छन् ।

आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट भागेका ७७३ जनामध्येमा कोही तोकिएको समयभित्रमा आफैँ फर्किएको र अन्यलाई प्रहरीले पक्राउ गरेर कारागार बुझाएको थियो । कास्कीबाट भागेका मध्येमा केही अन्य जिल्लामा समातिएका थिए । 

त्यसैगरी, अन्य जिल्लाबाट भागेकाहरूलाई समेत यहाँ पक्राउ गरिएको थियो । कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए। आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीका रूपमा दलहरूले लिएका छन्।

राजनीतिक दलहरूले कैदी र लुटिएका हतियारका कारणले निर्वाचन भयरहित र शान्तिपूर्ण हुन नसक्ने आशङ्का गरिरहेको अवस्थामा  प्रहरीले कैदीहरुको खोजी तीव्र बनाएको छ । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भागेका कैदीबन्दी फिर्ता ल्याउन विशेष रणनीतिअनुसार काम भइरहेको जानकारी दिनुभयो । “निर्वाचन सुरक्षा योजनाअनुसार आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष रणनीति बनाइएको छ।

यसका लागि प्रहरी टोली खटिएको छ । निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी हुन नदिने गरी जिल्लामा सुरक्षा कार्यान्वयन गरेका छौँ”, उनले भने।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update