म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालिएको छ ।
म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पिपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरवाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति हुन लागेको हो ।
सङ्घीय सरकारले चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य–पदमदीप जेभीले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम अघि बढाएको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले बताए ।
उनका अनुसार २ करोड पाँच लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको योजनाको आगामी २०८३ असार महिनासम्म म्याद रहेको छ । खहरेदेखि छिसवाङ हुदै ओखोलासम्म एक किलोमिटर पाँच सय मिटर सडकलाई पक्की नाला सहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिने आचार्यले बताए ।
छिसवाङका दुर्गाबहादुर खत्रीले विसं २०६७ मा मार्ग खुलेको सडक स्तरोन्नतिका लागि योजना परेपछि स्थानीयवासी उत्साही भएको बताए ।
‘मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा तीनदेखि चार मिटर फराकिलो सडकमा एकतर्फीमात्र गाडी चल्ने गरेका थिए । सडक फराकिलो पार्न हामीहरूले स्वःस्फुर्त रूपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छौँ,’ उनले भने ।
यो सडकबाट मङ्गलाको वडा नं ५ का साथै मालिकाको १ र २ का बासिन्दा लाभान्वित हुनुका साथै बेनी–दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डमा पहिरोलगायत कारणले अवरुद्ध हुँदा वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भएकाले रणनीतिक महत्व रहेको छ ।
यसअघिका दुई आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पिपलबोट खण्डमा र सङ्घीय सरकारले हिलवाङ–खहरेखोला क्षेत्रमा स्तरोन्नति गरेका छन् । जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्व र प्राथमिकता दिइएको छ ।
हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गरेमा यो सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने छिसवाङका बासिन्दा किशोर मल्लले बताए । यसअघि सङ्घीय सरकारले खहरेखोलामा ‘कल्भर्ट’ बनाएको छ ।







