काठमाडौं- निर्वाचन आचारसंहिता विपरीत एवं भ्रामक सूचना सम्प्रेषण गर्नेहरूलाई निर्वाचन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ ।
आयोगले विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हानिकारक सूचना सम्प्रेषण गर्ने ९८ सम्प्रेषकलाई कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाइएको हो । सो सम्बन्धी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
'विद्युतीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा यो हप्ता फेला परेका ६ वटा पत्रबाट ९८ वटा हानिकारक सूचना संप्रेषकलाई कानून बमोजिम कारबाही गर्न नेपाल प्रेस काउन्सिल, नेपाल प्रहरीको साइबर ब्यूरो र आयोगको केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिमा पठाएको छ,' शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगबाट हुने मिथ्या र भ्रामक सूचना तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण र नियमनका लागि आयोगले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक कम्पनीसँगको सहकार्यलाई प्राथमिकतामा राखेको उनले बताए ।







