Odapalika - The Fourth Estate - चौथो अंग
८१ जनाले चुनावी मैदान छाड्दा बाबुराम पछि हट्नुको यस्तो रहेछ कारण 

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवारी दर्ता गराएकामध्ये ८१ जनाले फिर्ता लिएको निर्वाचन अयोगले जनाएको छ । 

देशभर ३ हजार ४८७ जनाले उम्मेदवारी दर्ता गराएमा एकजना पूर्वप्रधानमन्त्रीसहितको उम्मेदवारी फिर्ता भएको हो । उम्मेदवारी फिर्ता लिनेमा विदेशमा स्थायी आवास अनुमति (पिआर) लिएका व्यक्तिसमेत छन् । 

फिर्ता लिनेमध्ये केहीले उम्मेदवारी दिँदा कानुनी ज्ञान नभएको र पछि ज्ञान प्राप्त गरेपछि फिर्ता लिएको बताएका छन् । कतिपयले भने निर्वाचनमा प्रतिस्पर्धा गर्न हाल इच्छा नभएकाले उम्मेदवारी फिर्ता लिएको बताएका छन् । 

पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई भने रास्वपाले निर्वाचनपछि राष्ट्रपति बनाउने बाचा गरेपछि फिर्ता लिएका छन् । 

रास्वपाका एक नेताका अनुसार पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई नै संकट पर्नसक्ने भएको र विगतमा बाबुराम रास्वपाप्रति नरम नै भएका कारण पनि फिर्ता लिन लगाउन सजिलो भएको हो । 

रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार कार्भिका थापालेअमेरिकाको स्थायी आवास अनुमति भएकाले फिर्ता लिइन् । पञ्चायतकालीन गृहमन्त्री निरञ्जन थापाकी छोरी कार्भिका १४ वर्ष अमेरिका बसेर फर्किएकी हुन् । 

उम्मेदवारी फिर्ता गरेकामध्ये अधिकांशले निर्वाचन कार्यालयमा बुझाएको पत्रमा भने हाललाई उम्मेदवार हुन इच्छा नभएको उल्लेख गरेका छन् । कतिपयले भने व्यक्तिगत कारणले फिर्ता लिएको बताएको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update