Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री बन्न वालेन झापा पुग्दा सिंहदरवार ताक्ने यी हुन् ६ आकांक्षी 

काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गर्न थालेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरका पूर्वमेयर तथा वरिष्ठ नेता वालेन्द्र (वालेन) शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै झापा–५ मा प्रतिस्पर्धामा उतारेको छ । 

रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचारको अन्त्य, सुशासनसहितका मुद्दा सम्बोधन गर्न वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीमा प्रस्तुत गरिएको बताउँछन् ।

जहाँ नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीका रुपमा अघि सारिउका पार्टी अध्यक्ष केपी ओलीसँग उनको टक्कर हुँदैछ । 

नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेकोे छ ।  कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शुक्रबार सभापति थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर उम्मेदवार घोषणा गरेको हो । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रधानमन्त्रीको रूपमा प्रस्तुत भएर चुनावी मैदानमा छन् ।  नेता देवप्रसाद गुरुङले नेकपाले जितेमा संयोजक प्रचण्ड स्वाभाविक रूपमा प्रधानमन्त्री बन्ने बताए ।

पार्टीमा पूर्वप्रधानमन्त्री तथा सहसंयोजक माधवकुमार नेपाल पनि दाबेदार छन् । तर प्रचण्डलाई नै पार्टीले अघि सारेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई र श्रम संस्कृति पार्टीले अध्यक्ष एवं धरान उपमहानगरपालिका पूर्वप्रमुख हर्कराज राई साम्पाङलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत  गरेर निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।  

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update