Odapalika - The Fourth Estate - चौथो अंग
नसर्ने रोगबाट प्रभावित बन्दै कर्णालीका बालबालिका

भेरीगङ्गा : कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुन थालेका छन् । कर्णाली प्रदेश अस्पाताल सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा  उपचारका लागि आउने गरेका हुन् । 

२० वर्षमुनिका ९५० जना बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचाररत रहेका अस्पतालका सर्जन डा सुवास शर्माले जानकारी दिए। ‘तीमध्ये साइकोसिस, अटिजमलगायत समस्या भएका व्यक्ति बढी देखिएका छन् । कम उमेरमा मानसिक स्वास्थ्य समस्या बढ्नु चिन्ताजनक विषय हो’, उनले भने।

शर्माका अनुसार मुटुसम्बन्धी रोगका २७, मधुमेहका १०, अटिजम स्पेक्ट्रम डिसअर्डरका १०, दमका पाँच र क्यान्सरका एक जना बालबालिका उपचाररत छन्। अस्वस्थ जीवनशैली, पत्रुखानाको बढ्दो प्रयोग, शारीरिक गतिविधिको कमी, मानसिक तनाव र डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकामा नसर्ने रोगको जोखिम बढेको उनले बताए।

समयमा स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम तथा मानसिक स्वास्थ्यप्रति परिवार र विद्यालयको सहकार्य आवश्यक रहेको डा शर्माले उल्लेख गरे। सन्तुलित जीवनशैली र खानपान समस्या समाधानको उपयुक्त विकल्प भएको उनको भनाइ छ ।

यसैबीच, वीरेन्द्रनगर नगरपालिकाबाट विपन्न नागरिकलाई औषधि उपचारका लागि १८० जना सिफारिस गरिएको तथ्याङ्क छ । सरोकार भएकाहरूले बालबालिकामा नसर्ने रोगसम्बन्धी जनचेतना गाउँगाउँसम्म पुर्‍ याउनुपर्नेमा जोड दिएका छन् । 

वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा युनिसेफ र सोसेक नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको सह–सिर्जना कार्यशालामा सहभागीहरूले नसर्ने रोगसम्बन्धी जनचेतना जगाउन सरोकार भएका निकायले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । 

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आगामी वर्षदेखि यससम्बन्धी नीतिगत व्यवस्था गरी प्रदेशभर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालानिकायका प्रतिनिधिको सहभागिता थियो। 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update