Odapalika - The Fourth Estate - चौथो अंग
दुप्चेश्वर गाउँपालिकामा झगडा छुट्याउन गएका छिमेकिको मृत्यु भएपछि...

त्रिशूली- नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा छुट्याउने क्रममा सोही स्थानका रणे तामाङको मृत्यु भएको छ ।

घेवारचौरस्थित ओङ्दी शेर्पा र उहाँका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीचको झगडा छुट्याउन गएका ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ओङ्दीको आमा चुङ्दी बिरामी भएकाले उनको स्वास्थ्यावस्था बुझ्न पुगेका छिमेकी तामाङले सोही समयमा भइरहेको शेर्पा र उनका छोराको विवाद समाधानका लागि सम्झाउने प्रयास गरेका थिए । 

बाबुछोराको विवाद बढ्दै गएसँगै बीचमा रहेर छुट्याउन लागेका तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको हो । उनको शरीमा चोटपटक केही नभएको हुँदा शवको परीक्षणपश्चात् मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि आज त्रिशूली अस्पतालमा ल्याइएको छ भने घटनाका सम्बन्धमा कारबाहीका लागि अनुसन्धान गर्न प्रहरीले ५२ वर्षीय ओङ्दी शेर्पा र उहाँका छोरा २६ वर्षीय कुन्सा ग्याल्जेन शेर्पाले पक्राउ गरेको छ । 

प्रहरीले उनीहरूविरुद्ध ‘ज्यानसम्बन्धी कसुर’मा नियन्त्रणमा राखेर अनुसन्धानका लागि आज नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update