काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइ सकिएको छ।
निर्वाचन आयोगका अनुसार अन्य जिल्लाको मतपत्र छपाइ भने जारी छ। मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा भइरहेको छ।
डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ।
त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नम्बर १ र २, कैलाली क्षेत्र नम्बर १, झापा क्षेत्र ५ र सुनसरीको १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ।
नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ।
समानुपातिकतर्फको दुई करोड आठ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ।







