काठमाडौं । अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद् (आइकम) अन्तर्गत् नेपालमा कार्यरत राष्ट्रिय समिति आइकम नेपालको नयाँ कार्यसमिति चयन भएको छ ।
माघ १६ गते काठमाडौमा सम्पन्न नवौं वार्षिक साधारणसभाले रमेश प्रसाद दवाडीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो । निर्वाचित कार्यसमितिको सचिवमा ओम प्रकाश घिमिरे र कोषाध्यक्षमा सन्तबहादुर गुरुङ चयन भएका छन् ।
समितिका अन्य सदस्यहरूमा डा. पशुपति न्यौपाने, रोशन मिश्र, शान्ता चौधरी, पवित्रा थपलिया, सन्तोष कुमार सुवेदी र ख्यामप्रसाद शिवाकोटी छन् ।
नवनिर्वाचित कार्य समितिले आगामी दिनमा नेपालको सङ्ग्रहालय क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विशेषगरी स्थानीय स्तरमा संचालित साना सङ्ग्रहालयहरूलाई मापदण्ड र मानकका आधारमा सक्षम तथा स्तरयुक्त बनाउने दिशामा विशेष पहल गर्ने नवनिर्वाचित् सचिव ओमप्रकाश घिमिरेले बताए ।
नवनिर्वाचित समितिले आगामी तीन वर्षे कार्यकालका लागि जिम्मेवारी सम्हाल्नेछ । हाल आइकम नेपालमा १९ वटा सङ्ग्रहालय संस्थागत सदस्य तथा ५१ जना व्यक्तिगत सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ ।
आइकम नेपालले नेपालमा सङ्ग्रहालय क्षेत्रको विकास, ज्ञान निर्माण, पैरवी तथा क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आइकमका विश्वभर १२० भन्दा बढी देशमा राष्ट्रिय समितिहरू सक्रिय छन् । त्यसमध्ये नेपालको राष्ट्रिय समितिले पनि पछिल्लो समयमा सक्रियता बढाएको छ ।







