Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचन आयोगले हटायो समानुपातिक सूचीबाट ७६ जनाको नाम

काठमाडौं- आसन्न निर्वाचनका लागि बन्द सूचीमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीमा रहेका ७६ जनाको नाम हटाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनको लागि दर्ता भएको नाम हटाएको जनाएको छ । 

बन्दसूचीका सम्बन्धमा परेका उजुरी, प्रचलित कानून बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उनीहरूलाई सूचीबाट हटाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना र निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जनाको नाम सूचीबाट हटाइएको छ ।

यसैगरी, पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना र महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जनाको नाम समेत सूचीबाट हटाइएको प्रवक्ता भट्टराईले बताए ।

उनका अनुसार नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना र माथि उल्लिखित कारणमध्ये एकभन्दा बढी कारण भएका २ जनाको नाम बन्दसूचीबाट हटाइएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update