Odapalika - The Fourth Estate - चौथो अंग
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार ७७२ जना महिला छन् । पुरुष एक हजार ३६३ जना छन् । 

समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन् । आयोगले कूल ५७ वटा निर्वाचन चिह्न कायम गरेको छ ।

आयोगका अनुसार, अन्तिम सूचीअनुसार कूल तीन हजार १३५ उमेदवार कायम भएका छन् । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो ।
 
आयोगले विभिन्न कारणले ७६ जना उमेदवारको नामावली भने बन्दसूचीबाट हटाएको थियो । त्यसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जनाको नाम हटाएको छ ।

आयोगले तोकिएको जरिबाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नभएका एकजनालाई पनि बन्दसूचीबाट हटाएको थियो । नाम हटाउन सम्बन्धित राजनीतिक दलबाट लेखिएआएका १० जनाको नाम समेत हटाइएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update