काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ बाट आठौं पटक उम्मेदवारी दिंदै समग्र विकास र समृद्धिको खाका समेटिएको विस्तृत प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन्। आठौँ पटक चुनाव लड्दै गरेका ओलीले ६ पटक जित निकालेका छन् । यसपटक जितेर जितको संख्या थप्ने उनको दाउ छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्यलाई आधार बनाउँदै सार्वजनिक गरिएको प्रतिवद्धता–पत्रमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। प्रतिवद्धता–पत्र सार्वजनिक गर्दै ओलीले झापा–५ लाई आर्थिक, सामाजिक र पूर्वाधार विकासको नमुना क्षेत्र बनाउने लक्ष्य लिएको बताए। उनले विगतमा आफ्नै नेतृत्वमा भएका विकास योजनाहरूको निरन्तरतासँगै बाँकी रहेका अधुरा परियोजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। ओलीका अनुसार स्थायित्व, सुशासन र विकासबीचको सन्तुलन कायम गर्दै मात्र मुलुकलाई समृद्धितर्फ लैजान सकिन्छ।
एमालेले आफ्नो दस्तावेजमा २००६ सालदेखि सुरु भएको कम्युनिस्ट आन्दोलनको इतिहास स्मरण गर्दै नेकपा (एमाले)लाई मूलधारको राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरेको छ। पार्टीले विगतमा सञ्चालन गरेका लोकप्रिय कार्यक्रमहरूलाई आधार मानेर नयाँ योजनाहरू अघि बढाइने उल्लेख गरेको छ।
राजनीतिक अस्थिरता अन्त्य, सुशासनको प्रवद्र्धन र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लागू गर्ने विषयलाई विशेष जोड दिइएको छ। साथै, कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था गर्ने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ। भौतिक पूर्वाधारतर्फ यस क्षेत्रका मुख्य सडक र पुलहरूको निर्माण तथा स्तरोन्नतिलाई उच्च प्राथमिकता दिइएको छ। दमक–चिसापानी–रवि सडकखण्डलाई पूर्णता दिने, पाडाजुँगी–गौरीगञ्ज–आल्ताबारी सडकको स्तरोन्नति गर्ने र हुलाकी मार्ग अन्तर्गत माई नदीको पुलको अधुरो काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ। त्यस्तै, रतुवा, मावा र कमल खोलामा तटबन्धन निर्माण गरी नदी कटान नियन्त्रण गर्ने तथा पक्की पुलमार्फत आवागमन सहज बनाउने योजना अघि सारिएको छ।
दमक र गौरादहलाई ‘स्मार्ट सिटी’ को रूपमा विकास गर्दै व्यवस्थित बसोबासको व्यवस्था मिलाइने उल्लेख छ। सहरी पूर्वाधार, ढल निकास, फोहर व्यवस्थापन, सार्वजनिक यातायात र हरित क्षेत्रको विकासलाई समेत प्राथमिकतामा राखिएको छ। यसले स्थानीय बासिन्दाको जीवनस्तर उकास्न सहयोग पुग्ने एमालेको दाबी छ।
कृषि प्रधान क्षेत्र भएकाले किसानलाई केन्द्रमा राखेर कृषि आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने योजना बनाइएको छ। भूमिगत तथा सतह सिँचाइ आयोजनामार्फत सिँचाइ सुविधा विस्तार गर्ने, जैविक मल कारखाना स्थापना गर्ने र किसानका उत्पादन सुरक्षित राख्न शीतभण्डार निर्माण गर्ने कार्यक्रम समेटिएको छ। कृषि बजारको पहुँच बढाई किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसमेत राखिएको छ। उद्योग र रोजगारी सिर्जनालाई पनि प्रतिवद्धता–पत्रमा विशेष महत्व दिइएको छ। दमकमा निर्माणाधीन नेपाल–चीन मैत्री औद्योगिक पार्कलाई शीघ्र सम्पन्न गरी स्थानीय युवालाई रोजगारी दिने र व्यापारिक केन्द्रका रूपमा दमक बिजनेस टावर सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ। यसबाट स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने एमालेको अपेक्षा छ।
सामाजिक क्षेत्रतर्फ प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने र अधुरा खानेपानी आयोजना पूरा गर्ने लक्ष्य राखिएको छ। स्वास्थ्य सेवामा दमक, कमल र गौरादहका अस्पतालहरूको स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार र स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने योजना उल्लेख गरिएको छ। शिक्षातर्फ सामुदायिक विद्यालय तथा क्याम्पसहरूको भौतिक सुधार, प्रविधिमैत्री शिक्षण र गुणस्तर अभिवृद्धिमा जोड दिइएको छ।
खेलकुद पूर्वाधार विकासका लागि दमकमा मदन भण्डारी रङ्गशाला र कमलमा आदिवासी रङ्गशालालाई आधुनिक स्तरमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ। भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न लालपुर्जा वितरण कार्यलाई तीव्रता दिने एमालेको योजना छ। साथै, विपन्न तथा दलित समुदायका लागि सुरक्षित आवास निर्माण कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ। सामाजिक न्याय र समावेशीतालाई केन्द्रमा राखेर विकासका कार्यक्रम अघि बढाइने ओलीले बताएका छन्।
पर्यटन विकासतर्फ सिमसार क्षेत्र, वाल्मीकि आश्रम, इन्द्रेणी ताल र गौरादहको पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ। स्थानीय संस्कृति, परम्परा र प्राकृतिक सम्पदाको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ। ओलीले झापा–५ लाई पूर्वी नेपालको आर्थिक, शैक्षिक र औद्योगिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन सोचसहित प्रतिवद्धता–पत्र सार्वजनिक गरिएको बताए।
उनले मतदातासँग विकास, स्थायित्व र सुशासनको पक्षमा साथ दिन आग्रह गर्दै विगतको अनुभव र भावी योजनाका आधारमा आफूलाई पुनः निर्वाचित गराउने विश्वास व्यक्त गरेका छन्। एमालेले प्रस्तुत गरेको यो प्रतिवद्धता–पत्रलाई आगामी निर्वाचनमा आफ्नो मुख्य राजनीतिक आधार बनाउने तयारी गरेको छ। झापा ५ मा थुप्रै उम्मेदवार भए पनि ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहबीच नै मुख्य प्रतिस्पर्धा हुँदैछ ।







