Odapalika - The Fourth Estate - चौथो अंग
बारा घटनाको नालिबेलीः कसरी समन्वय गर्दैछ स्थानीय सरकार ?

काठमाडौँ । गत विहीबार बारा जिल्लामा पर्ने गौर नगरपालिका–६ मा एउटा सामान्य विवाद भयो । सो विवादले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ ।

भएको के थियो भने गत विहीबार बारा–६ को सनगढा गाउँमा विवाहको जन्ती गएको थियो । सो जन्तीमाथि सनगढाका केही किशोरले ढुंगा प्रहार गरे भनेर हिन्दु र मुस्लिम समुदायबीच विवाद बढ्न लागेको थियो ।

गौर नगरपालिकाका प्रवक्ता अर्जुनकुमार सिंहका अनुसार विवादले उग्ररुप लिने संकेत विहीबारै देखिएको थियो । त्यसपछि विषयको गम्भीरता हेरेर स्थानीय सरकार, राजनीतिक दलहरु र प्रशासनको समन्वय र सहजीकरणमा शुक्रबार दुबै पक्षबीच ६ बुँदे सम्झौता भयो । सम्झौतमा विवाद अघि नबढाउने र भाइचारा सम्बन्ध कायम राख्न दुबै पक्ष सहमत भए ।

सम्झौता भएपनि शुक्रबार स्थानीय मस्जिदबाट भड्काउपूर्ण अभिव्यक्ति आएको स्थानीय बताउँछन् । मुस्लिम समुदायले भने मस्जिदमा प्रार्थना चलिरहेको समयमा हिन्दुहरुले बाजा बजाएर तनाव सिर्जना गरेको दाबी गरेका छन् ।

यही विवाद बढ्दै गएर गौर नगरपालिका क्षेत्रमा असामान्य अवस्था सिर्जना भएको नगरपालिकाका प्रवक्ता सिंह बताउँछन् । विवाद बढेर हिंसात्मक आन्दोलन सुरु भएपछि स्थानीय प्रशासनले शनिवार दिउसो १ बजेदेखि सो क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कफ्र्यू जारी गरिएको छ ।

विवाद सुरु भएदेखि नै साम्य बनाउन लागेका मेयर शम्भु साह अहिले पनि समन्वयमा लागिरहेका छन् । तर, जेनजी प्रदर्शनपछि कमजोर बनेको प्रहरीको मनोबल अझै पनि उठ्न नसकेका कारण प्रशासनको उपस्थिति आशा गरेअनुरुप प्रभावकारी नभएको अनुभव स्थानीय सरकारले गरेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update