काठमाडौं । नेपाली कांग्रेस ले आगामी निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसे ले निर्वाचन प्रक्रियाको निष्पक्षता र पारदर्शितामा कुनै शंका उत्पन्न हुन नदिन सरकार सचेत हुनुपर्ने बताएका हुन्।
प्रवक्ता चालिसेले मतदान गर्नु जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उक्त अधिकारको पूर्ण अभ्यास सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताए। “निष्पक्षतासाथ भयरहित, शान्तिपूर्ण र जनताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार हो,” उनले भने, “शासनको वैधताको स्रोत नै जनताको मताधिकार हो। यसमा दायाँबायाँ गर्ने छुट सरकारलाई छैन।”
उनले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कुनै पनि प्रकारको प्रशासनिक, राजनीतिक वा सुरक्षाजन्य हस्तक्षेपले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने चेतावनी दिए। त्यसैले निर्वाचनका सबै चरण—मतदाता नामावली, उम्मेदवारी दर्ता, प्रचारप्रसार, मतदान र मतगणना—निष्पक्ष ढंगले सञ्चालन हुनुपर्नेमा उनले जोड दिए।
कांग्रेसले हालसम्म निर्वाचन प्रक्रियाप्रति प्रत्यक्ष शंका व्यक्त नगरेको स्पष्ट पार्दै चालिसेले निष्पक्षताको वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारको भएको बताए। “नेपाली कांग्रेसले अहिलेसम्म शंका गरिसकेको छैन। तर निष्पक्षताको वातावरण निर्माण गर्ने सरकारको कर्तव्य हो भन्ने कुरामा ऊ सचेत हुन जरुरी छ,” उनले भने।
पत्रकार सम्मेलनमा उनले राज्य संयन्त्रको दुरुपयोग हुन नदिन, सुरक्षाकर्मी तटस्थ रहन र प्रशासनले समान व्यवहार गर्नुपर्ने मागसमेत राखे। निर्वाचनको समयमा देखिने अफवाह, दुष्प्रचार र मतदातालाई प्रभाव पार्ने गतिविधि नियन्त्रण गर्न पनि उनले सरकारलाई आग्रह गरे।
यसैबीच, चालिसेले पछिल्लो समय विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरिरहेको दाबी गरे। उनका अनुसार नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलबाट नेता–कार्यकर्ताहरू कांग्रेसमा समाहित भइरहेका छन्। उनले यसलाई कांग्रेसप्रति जनविश्वास बढेको संकेतका रूपमा व्याख्या गरे।
कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र सुदृढीकरणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्वाचनलाई लोकतन्त्रको पर्वका रूपमा मनाउन आह्वान गरेको छ। पार्टीले सबै राजनीतिक दललाई पनि संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै दलहरू प्रचारप्रसारमा सक्रिय भइरहेका बेला कांग्रेसले सरकारलाई निष्पक्षताको वातावरण सुनिश्चित गर्न सार्वजनिक रूपमा स्मरण गराएको हो। निर्वाचन निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न भए मात्र परिणामप्रति सबै पक्षको स्वीकृति र लोकतान्त्रिक स्थायित्व सुनिश्चित हुने कांग्रेसको भनाइ छ।







