काठमाडौँ । बैतडी जिल्लाको डिलासैनी गाउँपालिकाले आफ्नो पेशा (जागिर) वा व्यवसाय नभएका बेरोजगारलाई वडा कार्यालयनमा निवेदन दिन भनेको छ ।
कुनै पेशा व्यवसाय संलग्न नरहेका बेरोजगार व्यक्तिलाई कम्तिमा १०० दिनको रोजगारी उपलब्ध गराउन गाउँपालिकाले तयारी थालेको हो । आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम १०० दिनको रोजगारी उपलब्ध गराउन योग्यता पुगेका इच्छुक नागरिकलाई आव्हान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहोराले जानकारी दिए । गाउँपालिकाले न्यून आय भएका र स्वरोजगारमा संलग्न नरहेका वा आर्थिक तथा सामाजिक अवसरबाट बन्चित भएका १८ वर्षदेखि ५९ वर्षसम्मका बेरोजगार नागरिकलाई रोजगार सेवा केन्द्र मार्फत सार्वजनिक विकास निर्माण कार्यमा संलग्न गराउन लागिएको हो ।
इच्छुक नागरिकले आफूले बसोबास गरिरहेको वडा कार्यालयमा निवेदन दिन भएको छ । निवेदनको साथमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, सीपमुलक तालिम लिएको भए सोको प्रतिलिपी, बसाई सराइ भएको भए सोको प्रमाणपत्रको प्रतिलिपी, निवेदनसाथ पासपोर्ट साइजको एकप्रति फोटो, परिवारका कुनै सदस्यले सामाजिक सुरक्षा भत्ता तथा अन्य पेन्सन सुविधा लिए नलिएको विवरण, बैंक खाता नम्बर तथा सम्पर्क नम्बर जस्ता विवरण र कागजात बुझाउनु पर्ने गाउँपालिकाले भनेको छ ।







