प्रहरी मुख्यालयमा स्थापना भयो ‘एआई सेल’

काठमाडौँ : डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ। 

सामाजिक सञ्जालमा पोष्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ। नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा स्थापना भएको सेलको आज गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरे। 

त्यस अवसरमा उनले एआई सेलले गर्ने काम र भावी कार्ययोजनाबारे जानकारी लिँदै विशेषगरी निर्वाचनसम्बन्धी गलत, भ्रामक र मित्था सूचनाको नियमन गरी निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गरे।

मन्त्री अर्यालले एआई सेलले सामाजिक सञ्जालको माध्यमबाट हुने जुनसुकै अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update