काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
पूर्वमन्त्री श्रेष्ठसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा ५ लाख धरौटीमा मुद्दाको पुर्पक्ष गर्ने आदेश बेरीतको रहेकाले त्यसलाई बदर गरी थुनामा राखी मुद्दाको पुर्पक्ष गरीपाउँ भनी आयोगले आइतबार सर्वोच्च अदालत निवेदन दिएको हो ।
आयोगले यो मुद्दामा ७८ लाख बिगो कायम गरेर गत असोज २२ मा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो । तर, विशेष अदालतले यही फागुन १० गते थुनछेक आदेश गरेको थियो ।
उक्त दिन विशेषले गरेको आदेश अनुसार रञ्जिताले ५ लाख धरौटी बुझाएकी थिइन् । यही मुद्दामा प्रतिवादी बनाइएका पूर्वमन्त्री राजकुमार गुप्तालाई भने विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।







