Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभा सदस्य निर्वाचन : आज मतदान

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (फागुन २१) मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि बेलुका ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि, ०७४ र ०७९ सालमा निर्वाचन भएको थियो । 

आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका निम्ति मतदान हुँदै छ ।

प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उमेदवार प्रतिस्पर्धामा छन् । 

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका निम्ति देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ ।

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका निम्ति प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन सुरक्षाका निम्ति ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदै छन् ।

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्‍याइसकेको छ । 

यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update