काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह झापा ५ बाट विजयी भएका छन् ।
शनिबार साँझ सम्पन्न मतगणनामा बालेन ६८ हजार ३४८ मतसहित विजयी भएका हुन् । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका शाहसँग ओली फराकिलो मतान्तरले पराजित भएका हुन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरे ।
ओली पछिल्ला ३ वटा चुनावमा लगातार विजयी भएका थिए । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले नगण्य मत पाएका छन् ।
पहिलो संसदीय चुनाव लडेका बालेनले इतिहासकै धेरै मत पाएका छन् । २०८२ भदौ २३–२४ को जेनजी आन्दोलनबाट विस्थापित बनेका ओलीकै क्षेत्रमा बालेन चुनाव लड्न पुगेका थिए ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर पार्टी चुनावमा गएको थियो ।
झापाबाट चुनाव जितेका बालेन केही दिनमा प्रधानमन्त्री बन्ने निश्चित भएको छ । मतगणनाको अहिलेसम्मको नतिजाले रास्वपाले एकल बहुमत ल्याउने देखिएसँगै बालेन प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।







