काठमाडौं । देशभरका ५०० भन्दा बढी अपांगता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
वर्तमान संघीय अध्यक्ष देवीदत्त आचार्यले संस्थालाई ‘निजी कम्पनी’जस्तै स्वेच्छाचारी ढंगले सञ्चालन गरेको, आर्थिक अनियमितता र आसन्न १०औँ महाधिवेशन कब्जा गर्ने दाउ रचेको भन्दै असन्तुष्ट पदाधिकारीले महासंघको केन्द्रीय तथा सातै प्रदेश कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सुगम भट्टराईले जारी गरेको विज्ञप्तिमा साढे तीन वर्षदेखि महाधिवेशन र साधारणसभा नबोलाई संस्थालाई बन्धक बनाएको आरोप लगाइएको छ ।
विवाद समाधानका निम्ति असन्तुष्ट पक्षले अध्यक्षको राजीनामालाई पहिलो सर्त बनाएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा सबै पक्ष अटाउने स्वतन्त्र र अधिकारसम्पन्न तदर्थ समिति गठन गरी त्यसमार्फत संस्थाहरूको निष्पक्ष नवीकरण र महाधिवेशन गराउनुपर्ने उनीहरूको माग छ । आर्थिक अनियमितताको निष्पक्ष कानुनी छानबिन हुनुपर्ने माग पनि अघि सारिएको छ ।







