प्रधानमन्त्री कार्कीले बिदाइ सम्बोधनमा भनिन् ‘देशको उज्यालो भविष्य देखिरहेको छु’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा विशेष सम्बोधन गरेकी छन् । आफ्नो ६ महिने कार्यकाल सफलताका साथ पूरा गरी नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि उनले सम्बोधन गरेकी हुन् । 

सो क्रममा उनले भदौ २३ र २४ को जेनजी आन्दोलनपछिको असहज परिस्थितिमा सत्ता सम्हाल्नुभएलेकी कार्कीले देशलाई लोकतान्त्रिक र संवैधानिक मार्गमा फर्काउन आफ्नो सरकार सफल रहेको भन्दै खुसी प्रकट गरिन् । 

बिदाइ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनिन्, 'म आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेको छु, जहाँ हाम्रो एकता र इमानदारीले नयाँ इतिहास लेख्नेछ ।'

आफ्नो सम्बोधनको सुरुवातमै प्रधानमन्त्रीले भदौको 'जेन्जी' आन्दोलनमा ज्यान गुमाउने ७६ जना सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । आन्दोलनका क्रममा घाइते भएका २ हजार ६ सयभन्दा बढी व्यक्तिको स्वास्थ्य लाभको कामना गर्दै उनले सहारा गुमाएका परिवारलाई राज्यले एक्लो नछोड्ने प्रतिबद्धता जनाइन् । ८४ अर्बको भौतिक क्षति भएको स्मरण गर्दै उनले भनिन्, 'हामी फेरि उठ्नेछौँ र अझ बलियो भएर अघि बढ्नेछौँ ।'

आफ्नो सरकारको प्रमुख कार्यादेश निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै कार्कीले फागुन २१ गते देशभर एकै चरणमा शान्तिपूर्ण रूपमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुनुलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरिन् । निर्वाचन आयोग, सुरक्षा निकाय र आम मतदाताको सक्रिय सहभागिताले नै यो सम्भव भएको भन्दै उनले सबैप्रति आभार प्रकट गरिन् । उनले आगामी निर्वाचनहरूमा पनि यही स्तरको निष्पक्षता कायम राख्न सके लोकतन्त्र थप सुदृढ हुने विश्वास व्यक्त गरिन्।

छोटो अवधिमा पनि सुशासनको क्षेत्रमा केही मानक स्थापित गर्न सफल भएको दाबी गर्दै प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पूर्ण व्यावसायिक स्वतन्त्रता दिइएको बताइन् । 

मंसिर २४ गते आन्दोलनकारी पक्षसँग भएको ऐतिहासिक सम्झौताको अपनत्व ग्रहण गर्दै प्रधानमन्त्रीले सो सम्झौताका बाँकी काम नयाँ सरकारले प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरिन् । आन्दोलनका क्रममा भएको क्षति र घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको उनले जानकारी दिइन् । साथै, प्रभावित उद्योग र व्यवसायलाई राहत दिन 'एकीकृत व्यावसायिक पुनरुत्थान योजना' कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो ।

युवाहरूको नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई शुभकामना दिँदै कार्कीले भ्रष्टाचार अन्त्य र रोजगारी सिर्जनामा नयाँ टोलीले नतिजामुखी काम गर्ने अपेक्षा गरिन् ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update