काठमाडौं - विवादित व्यवसायीसँग व्यावसायिक साझेदार गरेको र सम्पत्ति विवरण लुकाएको आरोप लागेपछि सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गर्दै उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिनको माग समेत गरेका छन् । 'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा 'कन्फिल्क्ट अफ इन्ट्रेस्ट' नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,' उनले भनेका छन् ।
२०८२ चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङले २६ दिनमै राजीनामा दिएका हुन् । सुधनले छाडेपश्चात् राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार तोकेका छन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीना दिएका थिए । सोही कारण निजले सम्हाली आएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।






