सर्केगाड गाउँपालिकाले भन्यो– ७ दिनभित्रमा व्यवसाय दर्ता गर्नू, नत्र कारवाही होला

 

काठमाडौँ । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाले सबै व्यवसायीलाई ७ दिनभित्र गाउँपालिकामा व्यवसाय दर्ता गर्न निर्देशन जारी गरेको छ ।

गाउँपालिकाले जेठ २० गते सार्वजनिक सुचना प्रकाशन गरी ७ दिनभित्रमा दर्ता हुन भनिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर चन्दले जानकारी दिए ।

गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रहेका होटल, पसल लगायतका विभिन्न क्षेत्रमा व्यवसाय गरिरहेका सबैलाई व्यवसाय दर्ता गरेर संचालन गर्न भनेको हो । गाउँपालिकाले आफ्नो व्यवसाय दर्ता गरी प्रत्येक वर्ष नवीकरण गर्ने भन्ने विषयमा सरोकारवालाई यसअघि नै जानकारी गराइएको पनि बताएको छ ।

तर दर्ता र नवीकरण गरेर मात्रै व्यवसाय संचालन गर्नको लागि गाउँपालिकाले पटक पटक सुचना जारी गरेपनि सरोकारवाले वास्ता नगरेको गाउँपालिकाको भनाइ छ ।

‘पटक–पटक यस कार्यालयबाट सूचना जारी हुँदासमेत सम्बन्धित व्यवसायीहरूले सुनुवाइ नगरेको हुँदा अन्तिम पटक यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र सम्बन्धित व्यवसायीहरूले आफ्नो नाममा रहेको व्यवसाय यस गाउँपालिकाको कार्यालयमा दर्ता गराई सहयोग गरिदिन अनुरोध छ’, गाउँपालिकाले जारी गरेको ७ दिने सुचनामा उल्लेख छ ।

अन्तिम पटक भनेर जारी गरिएको सुचनालाई अवज्ञा गरेको पाइए गाउँपालिकाको व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद ३ को दफा १२ र १३ मा व्यवस्था भए बमोजिमको कानुनी कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत चन्दले बताए ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update