सर्केगाड गाउँपालिकाले किन माग्यो ३ दिनभित्र प्रमाणित हाजिरी रजिष्टरको स्क्यान कपि ?

 

काठमाडौँ । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाले वडा कार्यालय तथा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको हाजिरी रजिष्टार प्रमाणित गरी ३ दिनभित्रमा पठाउन निर्देशन दिएको छ ।

गाउँपालिकाले सबै वडा कार्यालयहरु तथा स्वास्थ्य चौकी कार्यालयहरुलाई परिपत्र गर्दै सिनियर तहको कर्मचारीले कार्यालयका सबै कर्मचारीको हाजिरी रजिस्टर प्रमाणित गरी ३ दिनभित्रमा गाउँपालिकामा स्क्यान गरेर पठाउन भनिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर चन्दका अनुसार केही कर्मचारी नियमित रूपमा कार्यालयमा उपस्थित नभई कामकाजमा बाहिर जाने गरेको जनगुनासो तथा जानकारी प्राप्त भएपछि यस्तो व्यवस्था गरिएको हो। सार्वजनिक सेवा प्रवाह संवेदनशील विषय भएकाले कर्मचारीको नियमित उपस्थितिसँगै मासिक तलब–भत्ता भुक्तानी तथा प्रशासनिक कामलाई व्यवस्थित गर्न हाजिरीमा कडाइ गरिएको गाउँपालिकाले जनाएको छ।

निर्देशनअनुसार प्रत्येक कार्यालयले प्रमाणित हाजिरी रजिस्टरको स्पष्ट देखिने स्क्यान कपी वा फोटो ३ दिनभित्र गाउँपालिकाले तोकेको इमेल वा ह्वाट्सएप नम्बरमा पठाउनुपर्नेछ गाउँपालिकाले भदौ २६ गते यस्तो परिपत्र गरेको हो ।

तोकिएको समयभित्र हाजिरी विवरण प्राप्त नभएमा वा बिनाजानकारी कर्मचारी कार्यालयमा अनुपस्थित भएको पाइएमा सम्बन्धित कर्मचारीको तलब–भत्ता रोक्का गर्नुका साथै प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी गाउँपालिकाले दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update